ग्लोबल


मम्दानीको चमत्कार : सत्ता र धन दुवैलाई हराउँदै न्युयोर्कमा रचे इतिहास

मम्दानीको चमत्कार : सत्ता र धन दुवैलाई हराउँदै न्युयोर्कमा रचे इतिहास

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार २१:१६,

‘डोनाल्ड ट्रम्प! मलाई थाहा छ, तपाईं हेरिरहनुभएको छ। तपाईंलाई म चार शब्द भन्छु– आवाज अलि चर्को पार्नुस्!’

न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीले आफ्नो पहिलो भाषणमा सिधै ट्रम्पलाई ललकारे। 

यसै पनि मम्दानीको विजय अनेक कारणले उल्लेखनीय छ। एक त उनी न्युयोर्कका पहिलो दक्षिण एसियाली तथा मुस्लिम मेयर हुन्। १८९२ यताका सबैभन्दा कान्छा मेयर पनि हुन्। अनि अफ्रिकामा जन्मेका पहिलो मेयर पनि।

तर, यी सबैभन्दा मुख्य कुरा के हो भने देशका सबभन्दा शक्तिशाली व्यक्ति, सबभन्दा धनी व्यक्ति र सबभन्दा प्रभावशाली संस्था उनीविरुद्ध लागेका थिए। 

३४ वर्षका मम्दानी गतवर्ष चुनावी मैदानमा उत्रिँदा उनलाई कसैले चिनेको थिएन। उनीसँग पैसा पनि थिएन। पार्टीको सहयोग त परै छाडौँ। डेमोक्र्याटिक पार्टीका नेताहरूले खुलेर उनको समर्थन गरेनन्। बाराक ओबामाले समेत खुलेआम अनुमोदन गरेनन्।

त्यसैले उनको विजय चमत्कारभन्दा कम थिएन।

मम्दानीलाई टक्कर दिएका उम्मेदवार एन्ड्रयु कुओमोलाई अन्तिम समयमा आएर डोनाल्ड ट्रम्पले समर्थन गरेका थिए। इलोन मस्कले उनलाई ‘ठग’ भनेका थिए। तर, उनीहरूको सत्ता र धनको बलले उनलाई रोक्न सकेन।

बरु, १९६० यताकै सबैभन्दा बढी मत ल्याएर उनले जिते। 

यसपालि न्युयोर्कका २० लाखभन्दा बढीले मतदान गरे। चार वर्षअघि ११ लाखले मात्र मतदान गरेका थिए।

अर्को महत्त्वपूर्ण कुरा, मम्दानीले पार्टीभित्र आफ्नै गठबन्धन बनाएका थिए। उनले न्युयोर्कमा परम्परागत मत मात्र नभई रिपब्लिकन क्षेत्रको मत समेत आफ्नो पक्षमा पारे।  

उनको विरुद्धको प्रचारबाजी अत्यधिक थियो। विपक्षीहरूले भनेका थिए, सेप्टेम्बर ११ मा जस्तो आतंकवादी हमला भए मम्दानीले खुसी मनाउने छन्। कतिपयले उनलाई डिपोर्ट गर्नुपर्ने आवाज उठाइरहेका थिए।

पैसाको खोलो बगाएर उनको बाटो छेक्ने प्रयास पनि नभएको होइन। अमेरिकामा एउटै व्यक्तिले उम्मेदवारलाई सोझै दिन पाउने चन्दाको एउटा सीमा छ। त्यसभन्दा बढी दिन पाइँदैन। तर, पोलिटिकल एक्सन कमिटी (सुपर प्याक) भनिने संस्थामार्फत जोसुकैले जुनसुकै उम्मेदवारको पक्ष वा विपक्षमा असीमित पैसा दिन सक्छ। त्यस्ता सुपर प्याकले उम्मेदवारसँग समन्वय नगरी त्यो पैसा खर्च गर्नुपर्ने हुन्छ।

मम्दानीविरुद्ध बिल एकम्यान, माइकल ब्लुमबर्गजस्ता अर्बपतिहरूले करोडौँ डलर सुपरप्याकमा खन्याएका थिए। उनीहरूले कुओमोलाई समर्थन गरेका थिए।

मम्दानीलाई कम्युनिस्ट, आतंकवादी, यहुदीविरोधी र अनुभवहीन व्यक्तिका रुपमा चित्रित गर्न भएभरको जोडबल लगाइएको थियो। फर आवर सिटी नामक एउटा सुपर प्याकले बनाएको विज्ञापनमा ढल्दै गरेको वर्ल्ड ट्रेड सेन्टरको भवनअघि मुस्कुराइरहेका मम्दानीको फोटो राखिएको थियो।

कुओमोलाई जिताउन सुपर प्याकहरूले ४ करोड डलर उठाएका थिए। मम्दानीको पक्षमा मात्र १ करोड उठेको थियो। 

फिक्स द सिटी नाम एउटा सुपर प्याकले मात्र कुओमोको पक्षबाट मम्दानीमाथि आक्रमण गर्न २.९ करोड डलर खर्चेको थियो।

यसलाई मम्दानीले धनीमानीहरू कसरी न्युयोर्कमा गुणस्तरीय जीवनको खोजीमा रहेकाहरूका लागि बाधा सिर्जना गर्छन् भन्ने उदाहरणका रुपमा पेस गरे। जसमा उनी सफल पनि भए।

१९९१ मा युगान्डामा जन्मेका मम्दानीका बुबा महमुद माम्दानी कोलम्बियाका प्राध्यापक हुन्। आमा मीरा नायर चर्चित फिल्म निर्देशक हुन्। उनकी पत्नी सिरियाली मूलकी रमा दुवाजी हुन्, जोसँग मम्दानीको भेट डेटिङ एप हिन्जमा भएको थियो।

अत्यधिक महँगो घरभाडा चार वर्षलाई जतिको त्यति राख्ने, महानगरको आफ्नै ग्रोसरी स्टोर खोल्ने, सार्वजनिक बस निशुल्क गर्ने तथा बालबच्चा हुर्काउँदा लाग्ने खर्च घटाउने उनको योजना छ। यी मुद्दाले आम मानिसलाई उनीतर्फ आकर्षित गर्‍यो।

तथापि, यी कामहरू गर्न उति सहज नहुने यसअघिका मेयरहरूको अनुभव छ। त्यसैले आलोचकहरूले मम्दानीले जति छिटो चमत्कारी व्यक्तित्व निर्माण गरे, त्यति नै छिटो उनी अप्ठेरोमा पर्ने दाबी पनि गरिरहेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad