अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा आफ्नो देशले भाग नलिने घोषणा गरेका छन्।
ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसहरूमाथि दमन भइरहेको दाबीका आधारमा उक्त निर्णय गरेका हुन्। यद्यपि यो दाबीलाई झुटा र आधारहीन मानिएको छ।
ट्रम्पले दक्षिण अफ्रिकामा बैठक आयोजना गरिनु 'पूर्ण रूपमा लज्जास्पद' भनेका छन्।
जी२० शिखर सम्मेलन यही महिनाको अन्त्यमा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजना हुँदै छ।
दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले भने अमेरिकाको निर्णयलाई 'खेदजनक' भनेको छ।
दक्षिण अफ्रिकाका अफ्रिकानर र गोरा समुदायको प्रतिनिधित्व गर्नेलगायत कुनै पनि राजनीतिक दलले देशमा कुनै पनि नरसंहार भइरहेको बताएका छैनन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म, ट्रुथ सोसलमा लेखेका छन्, 'दक्षिण अफ्रिकामा जी२० शिखर सम्मेलन आयोजना हुनु एकदमै लज्जास्पद छ। अफ्रिकानर (डच, फ्रान्सेली र जर्मन आप्रवासीका सन्तान) मारिएका छन् र उनीहरूका जग्गा अवैध रूपमा खोसिएका छन्।'
उनले अगाडि लेखेका छन्, 'जबसम्म मानवअधिकार उल्लंघन जारी रहन्छ, कुनै पनि अमेरिकी अधिकारीले यस शिखर सम्मेलनमा भाग लिने छैनन्।'
Shares

प्रतिक्रिया