शक्तिशाली आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या दुई सय ५० पुगेको छ।
गत साता लगातार आएका दुई शक्तिशाली आँधीबाट लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बताएका छन्। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले नोभेम्बर ४ मा आएको कालमेगी आँधीले मध्य फिलिपिन्समा ठूलो बाढी र पहिरो निम्त्याएको जनाएको छ। जसमा दुई सय ३२ जनाको मृत्यु भएको छ भने एक सय १२ जना हराइरहेका छन्।
आँधीका कारण धेरैजसो मृत्यु सेबु प्रान्तमा भएको छ। यो क्षेत्र सेप्टेम्बर ३० मा गएको ६.९ म्याग्निच्युडको भूकम्पबाट अझै पनि पीडित छ।
नागरिक रक्षा कार्यालयले आईतबार लुजोन टापुमा ठोक्किएको सुपर टाइफुन फङ–वङले कम्तिमा १८ जनाको मृत्यु भएको बताएको छ। दुई आँधीले लाखौं बासिन्दालाई विस्थापित गरेको छ। घर, खेतबारी र सडक र पुलहरू सहित प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको अधिकारीहरूले बताएका छन्।
फङ–वोङ यस वर्ष फिलिपिन्समा आएको २१औं उष्णकटिबंधीय आँधी हो। जसले देशको वार्षिक औसत २० वटा आँधीलाई उछिनेको छ।
Shares

प्रतिक्रिया