अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसनजिकै गोली चलेको छ।
गोली लागेर दुई जना नेसनल गार्ड सदस्य गम्भीर घाइते भएको एफबीआई निर्देशक काश पटेलले जानकारी दिएका छन्।
अधिकारीहरूका अनुसार, आक्रमणकारीले स्थानीय समय बुधबार दिउँसो २:१५ बजे राष्ट्रिय गार्ड सदस्यहरूमाथि गोली चलाइएको हो।
कानुन प्रवर्तन स्रोतहरूले आक्रमणकारी अफगान नागरिक रहमानउल्लाह लकनवाल भएको सीबीएस न्युजले उल्लेख गरेको छ। उनी सन् २०२१ मा अमेरिका आएका थिए।
उनी पनि गम्भीर घाइते भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
सुरुमा पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसेले दुई राष्ट्रिय गार्ड सदस्य मारिएको बताएका थिए, तर पछि उनले उनीहरूको अवस्थाबारे फरक फरक जानकारी आएको उल्लेख गरे।
अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार, राष्ट्रपति ट्रम्पले आक्रमणपछि वासिङन डीसीमा थप ५०० राष्ट्रिय गार्ड सदस्य तैनाथ गर्न आदेश दिएका छन्।
राष्ट्रपति ट्रम्पले संदिग्धलाई पशुको संज्ञा दिँदै उसले ठूलो मूल्य चुकाउने बताए।
ट्रम्पले ट्रुथआउटमा लेखेका छन्, 'हाम्रो महान् राष्ट्रिय गार्ड र सुरक्षा बलहरूमाथि गर्व छ। उनीहरूलाई मेरो सम्पूर्ण टोली र मेरो साथ छ।'
Shares

प्रतिक्रिया