ग्लोबल


शेख हसिनाविरुद्ध विद्रोहका क्रममा मारिएका १३४ जनाको शव गाडिएको सामूहिक चिहान उत्खनन सुरु

शेख हसिनाविरुद्ध विद्रोहका क्रममा मारिएका १३४ जनाको शव गाडिएको सामूहिक चिहान उत्खनन सुरु

२०२४ अगस्टमा बंगलादेशको प्रधानमन्त्री भवनमा आन्दोलनकारी


नेपालखबर
मंसिर २२, २०८२ सोमबार ७:१२, ढाका

बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबार उत्खनन सुरु गरेको छ।

विद्यार्थी आन्दोलनबाट सुरु भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो।

संयुक्त राष्ट्रसङ्घको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिसनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाइमा चिहानको उत्खनन थालिएको हो। 

ती शवहरूलाई ढाकाको रेयरबजार कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले सन् २०२४ जुलाईमा ८० र अगस्टमा मा अन्य ३४ लावारिस शवहरू व्यवस्थापन गरेको थियो।

संयुक्त राष्ट्रसङ्घले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

गत महिना मानवताविरुद्धको अपराधमा बङ्गलादेशको एक अदालतले उनलाई दोषी ठहर्‍याउँदै मृत्युदण्ड सुनाएको छ। 

अपराध अनुसन्धान विभाग (सीआईडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ लावारिश शवहरू रहेको विश्वास गरेको बताए।

‘चिहान खनेर शव निकालिएपछि मात्र हामी शबको पहिचानबारे पुष्टि गर्न सक्छौँ,’ उल्लाहले भने।

बाहिर निकालेका शवको पोस्टमार्टम परीक्षण र डीएनए परीक्षण गरिनेछ। यो प्रक्रिया पूरा हुन केही हप्ता लाग्ने अनुमान छ।

‘एक वर्षभन्दा बढी भइसक्यो, त्यसैले नरम तन्तुहरूबाट डीएनए निकाल्न सम्भव छैन,’ वरिष्ठ प्रहरी अधिकारी अबु तालेबले एएफपीसँग भने।

‘हड्डीहरूबाट अनुसन्धानको काम गर्दा बढी समय खपत हुनेछ,’ उनले थपे।

ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञहरू टोलीमा सामेल छन् भने फोन्डेब्रिडरलाई संयुक्त राष्ट्रसङ्घ अधिकार निकाय ओएचसीएचआरसँगको सम्झौताको एक भागका रूपमा सहयोग प्रदान गर्न ल्याइएको छ।

उनले भने, ‘यो प्रक्रिया जटिल र अद्वितीय छ। हामी अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्ने सुनिश्चितता गर्नेछौँ।’

फोन्डेराइडरले यसअघि अर्जेन्टिनाको पूर्व सैन्य तानाशाहीको समयमा बेपत्ता भएका दसौँ हजार व्यक्तिको अनुसन्धान गर्न सन् १९८४ मा स्थापना गरिएको अर्जेन्टिनाको मानवशास्त्रीय फरेन्सिक समूहको नेतृत्व गरेका थिए।

अधिकारीका अनुसार निकालिएका शवहरूलाई धार्मिक संस्कार र उनीहरूको परिवारको इच्छाअनुसार पुनः गाडिनेछ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad