ग्लोबल


एपस्टिन यौन प्रकरणमा ट्रम्पको दाबी: मविरुद्ध षड्यन्त्र गरियो

एपस्टिन यौन प्रकरणमा ट्रम्पको दाबी: मविरुद्ध षड्यन्त्र गरियो

नेपालखबर
माघ २०, २०८२ मंगलबार १०:३३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधमा दोषी जेफ्री एपस्टिनसँगको आफ्नो ‘सम्बन्ध’बारे प्रतिक्रिया दिएका छन्। 

बीबीसीका अनुसार मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले एपस्टिनसँग आफ्नो ‘कुनै लेनदेन’ नभएको दाबी गरेका हुन्। 

बरु उनले अमेरिकाको न्याय विभागले हालै जारी गरेका फाइलले उनलाई राजनीतिक रूपमा क्षति पुर्‍याउने र चुनाव हराउने षड्यन्त्र गरिएको खुलासा भएको जिकिर गरे। 

ग्रामी अवार्डका होस्ट ट्रेभर नोआलाई उल्लेख गर्दै ट्रम्पले भने, ‘उनले भने कि मैले जेफ्री एपस्टिनको टापुमा समय बिताएँ। मैले त्यसो गरेको छैन। जेफ्री एपस्टिनसँग मेरो कुनै सम्बन्ध छैन।’

उनले अगाडि भने, एपस्टिन र लेखक माइकल वोल्फले डोनाल्ड ट्रम्पलाई चुनाव हराउन षड्यन्त्र गरेका थिए... त्यसैले यो स्पष्ट छ-ती व्यक्तिसँग मेरो कुनै लेनदेन थिएन।’

ट्रम्पले डेमोक्र्याटहरूलाई एपस्टिनको मुद्दा फेरि उठाएको आरोप लगाए। 

उनले भने, ‘अब त्यो उनीहरूमाथि नै बज्रिँदै छ, किनिक फाइलमा अन्य प्रभावशाली नाम देखापर्दै छन्।’

उनले थपे, ‘डेमोक्र्याटहरूले यसलाई जोड दिइरहेका छन्, तर समस्या के हो भने यसले डेमोक्र्याटहरू नै एपस्टिनसँग मिलेर षड्यन्त्रमा संलग्न थिए भन्ने कुरा पर्दाफास गरिरहेको छ।’

यसअघि पनि ट्रम्पले ट्रुथ सोसलमा आफू जेफ्री एपस्टिनसँग नजिक नरहेको र झुटा आरोप लगाइएको जिकिर गरेका थिए।

हालै अमेरिकाको न्याय विभागले एपस्टिनको सामाजिक र व्यावसायिक सम्बन्धको विवरण दिने ३० लाखभन्दा बढी कागजात जारी गरेको छ। जसमा राजनीति, वित्त र उद्योग क्षेत्रका धेरै जना हस्तीहरूको नाम छ।

यस्तो छ एपस्टिन प्रकरणको पूरा कथा

यो कथा सन् २००५ मा तब सुरु भयो जब फ्लोरिडामा एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा जाहेरी दर्ता गरिन्।

जाहेरीमा उनले भनेकी थिइन्, मेरी छोरीलाई मसाजको बहानामा एपस्टिनको विलासी घरमा बोलाइयो र यौन सम्बन्ध राख्न दबाब दिइयो।

जाहेरीअनुसार घर फर्केपछि पीडित बालिकाले आफ्ना आमा-बाबुलाई यो कुरा सुनाइन्।

जेफ्री एपस्टिनविरुद्ध त्यो पहिलो आधिकारिक जाहेरी थियो।

तर प्रहरीले अनुसन्धान गर्ने क्रममा उनले यो मात्र नभएर यस्तै प्रकृतिका अन्य अपराध पनि गरेको कुरा खुल्यो।

बिस्तारै एपस्टिनविरुद्ध यस्तै आरोप लगाउने ५० जना नाबालिग पहिचान भए।

पामबिच प्रहरी विभागले यो विषयलाई गम्भीरतापूर्वक लिएर धेरै महिनासम्म अनुसन्धान गर्‍यो। यसपछि एपस्टिनविरुद्ध आपराधिक अनुसन्धान सुरु भयो।

अनुसन्धानले म्यानहट्टन र पामबिचमा एपस्टिनका विलासी आवास रहेको खुलासा भयो। जहाँ एपस्टिनले धेरै जना प्रमुख सेलेब्रिटी सहभागी गराई हाई-प्रोफाइल पार्टी आयोजना गर्थे। 

जुन पार्टीमा उनले कलिला किशोरीहरूलाई निजी जेट ‘लोलिता एक्सप्रेस’ चढाएर ल्याउँथे।

अनि पैसा र गहना वा धम्की दिएर उनीहरूलाई जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाउँथे। यस कार्यमा उनलाई प्रेमिका एवं पार्टनर गाइजलेन म्याक्सवेलले सहयोग गर्थिन्।  

 

 

आफ्नी प्रेमिकासँग जेफ्री एपस्टिन (फाइल फोटो)

यद्यपि दोषी ठहरिए पनि उनले लामो समय जेल बस्नु परेन। 

उनको प्रभाव यति थियो कि सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय त सुनाइयो यसमा पनि उनी जेल बाहिर काम गर्न पाउँथे।

को थिए जेफ्री एपस्टिन?

जेफ्री एपस्टिन न्युयोर्कका एक करोडपति फाइनान्सर थिए। उनको उठबस प्रमुख राजनीतिकर्मी र सेलेब्रिटीसँग हुन्थ्यो। 

उनीविरुद्ध सुरुमा सन् २००५ मा एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। २००८ मा उनी दोषी ठहरिए र १३ महिना जेल सजाय भोगे।

यसपछि सन् २०१९ मा उनलाई यौन बेचबिखनको आरोपमा फेरि पक्राउ गयो। तर मुद्दा चलाउनुअघि नै उनले जेलमै आत्महत्या गरे।

उनको गर्लफ्रेन्ड म्याक्सवेललाई भने सन् २०२१ मा उनलाई सहयोग गरेको कसुरमा दोषी ठहर्‍याइएको थियो। उनी अहिले २० वर्षको जेल सजाय भोगिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad