ग्लोबल


इरानले अमेरिकासँग झुक्नुभन्दा किन रोज्न सक्छ युद्ध?

इरानले अमेरिकासँग झुक्नुभन्दा किन रोज्न सक्छ युद्ध?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी (फाइल फोटो)


नेपालखबर
फागुन ८, २०८२ शुक्रबार २२:१, काठमाडौँ

इरानसँग जोडिएको क्षेत्रमा अमेरिकाले सैन्य तैनाथी बढाउँदै लगेको छ।

अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकन इरानी जलक्षेत्रमा पुग्दा नै स्थिति गम्भीर बनिसकेको छ। 

त्यसमाथि अर्को विमानवाहक यूएसएस जेराल्ड आर. फोर्ड अब सम्भावित सैन्य हमलामा भाग लिन पूर्वतिर गइरहेको छ।

यो अन्तिमपटक जिब्राल्टरको जलडमरुनजिकै देखिएको थियो। अन्य सैन्य उपकरण पनि यस क्षेत्रमा लगिएका छन्।

जसले अमेरिकाले त्यहाँ आक्रमणको तयारी गरिरहेको संकेत गर्छ।

त्यसो त इरानलाई कूटनीतिक दबाब दिन पनि अमेरिकाले नजिकै सैन्य तैनाथी बढाएको हुन सक्छ। 

तर यसले इरान र अमेरिकाबिच जारी वार्तामा अवरोध आएको संकेत पनि गर्छ।

यदि यो दुवै पक्षले आफ्ना अडान परिवर्तन गरेनन् भने सैन्य हमला हुने सम्भावना छ।

त्यसरी अमेरिकाले सैन्य तैनाथी बढाउँदै धम्की दिइरहँदा पनि इरानका नेता किन आफ्नो अडानमा अडिग छन्?

यसको उत्तर अमेरिकाले वार्ताका लागि राखेका सर्तमा लुकेको छ। 

'अमेरिकाका सर्त स्वीकार गर्नु आत्मसमर्पण' 

अमेरिकाले राखेका सर्तमा युरेनियम संवर्धन अन्त्य गर्ने र ब्यालिस्टिक क्षेप्यास्त्रको दायरा इजरायलका लागि खतरा नहुने बिन्दुमा घटाउनेजस्ता कुरा छन्।

अन्य सर्त पनि छन्। जस्तो : यस क्षेत्रभरि सशस्त्र समूहलाई सहयोग रोक्ने र इरानले आफ्ना नागरिकप्रति गर्ने व्यवहार परिवर्तन गर्ने। 

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि यही भनेका छन्।

इरानको विचारमा ती माग स्वीकार गर्नु आत्मसमर्पण गर्नु हो।

इरानका जोखिम 

इरानका सर्वोच्च नेता अली खामेनीको दृष्टिमा त्यस्ता सर्त स्वीकार गर्नु अमेरिकासँग युद्धको जोखिम उठाउनुभन्दा खतरनाक हुन सक्छ।

उनका भनाइमा ‘सैन्य टकराव जतिसुकै महँगो भए पनि बरु सहन सकिन्छ। तर आफ्नो रणनीति नै फिर्ता लिन सकिन्न।’

तर यसमा जोखिम छ। अमेरिकाले गर्ने सैन्य हमलाले शीर्ष नेतृत्वलाई निसाना बनाउन सक्छ।

यदि खामेनी मारिए भने यसले तीन दशकभन्दा बढी समयदेखिको उनको शासन अन्त्य मात्र गराउँदैन, उत्तराधिकारी प्रक्रिया पनि अस्थिर बनाउनेछ।

इरानलाई लागेको हुन सक्छ- अमेरिकाको हमलाले आफ्नो आणविक र क्षेप्यास्त्र क्षमता मात्र कमजोर पार्नेछ। तर युद्ध अनुमान गरेजस्तो विरलै हुने गर्छन्।

आर्थिक दबाब अर्को जोखिम हो। प्रतिबन्ध, महँगी र घट्दो क्रयशक्तिका कारण पहिले दबाबमा रहेको इरानको अर्थतन्त्रले थप झट्का सामना गर्नुपर्ने हुन सक्छ। 

तेल निर्यातमा कठिनाइ वा यसको पूर्वाधारमा क्षतिले जनआक्रोश अझ बढाउन सक्छ। यो आक्रोश अहिलेसम्म दबाइएको छ, शान्त पारिएको छैन।

यस्तो अवस्थामा पनि इरानको चुनौतीपूर्ण अडान देखिन्छ भने यसले उसको दृढता र आन्तरिक शक्ति प्रदर्शन गर्छ। 

अमेरिकालाई पनि छ जोखिम

अमेरिकालाई पनि जोखिम छ।

कागजी तथ्यांकअनुसार अमेरिकी सेनासँग आफ्नो सर्वोच्च कमान्डरको उद्देश्य पूरा गर्ने क्षमता छ।

तर युद्ध कागजी तथ्यांकमा लडिँदैन। आकलन गलत पनि हुन सक्छ भने युद्ध सोचेभन्दा फरक पनि हुन सक्छ।

इजरायलसँग भएको पछिल्लो १२ दिनको युद्धले इरानको कमान्ड संरचना र सैन्य पूर्वाधारका कमजोरी उजागर गरिदिएको थियो। 

ठुलो युद्ध दुवै पक्षका लागि उनीहरूले सोचेभन्दा घातक हुन सक्छ।

इरानमा केन्द्रीय शक्ति कमजोर हुँदैमा त्यहाँ स्थिरता आउँछ भन्ने छैन। यो स्वतः स्थिरता वा पश्चिमी हितमा बदलिँदैन। 

शक्तिको शिखरमा शून्यता पैदा भयो भने क्षेत्रीय सन्तुलनलाई जटिल बनाउन सक्छ, जसले गर्दा अमेरिका र यसका सहयोगीलाई कठिनाइ सिर्जना हुन सक्छन्।

इरानका विकल्प

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीसँग निकै कम मात्र विकल्प छन्।

अमेरिकाका सर्त स्वीकार गर्दा शासनको प्रतिरोधक रणनीति कमजोर हुने जोखिम हुन्छ। अस्वीकार गरौँ आन्तरिक अवस्था पहिले नै नाजुक भएका बेला युद्ध हुने जोखिम बढ्छ।

खामेनीले यो टकरावलाई दुई तरिकाले हेर्न सक्छन्।

उनको तर्क छ, सबैभन्दा खराब विकल्प रणनीतिक आत्मसमर्पण हुनेछ। र, सबैभन्दा कम खराब विकल्प सीमित र नियन्त्रित युद्ध हुनेछ।

इरान हाल सार्वजनिक रूपमा पछिल्लो विकल्पतर्फ लागेको देखिन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad