मेक्सिकोको मोस्ट वान्टेड सूचीमा रहेका एल मेन्चो सुरक्षा कारबाहीमा मारिएपछि देशमा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न ठुलो संख्यामा सेना तैनाथ गरिएको छ।
मेक्सिकोका रक्षामन्त्री रिकार्डो ट्रेभियाले पश्चिमी मेक्सिकोमा थप २,५०० सेना पठाइएको बताएका छन्।
मेक्सिकन सरकारका अनुसार आइतबारदेखि लगभग ९,५०० सेना तैनाथ गरिएको छ।
आइतबार हलिस्को (जलिस्को) राज्यमा मेक्सिकन विशेष सेनाले पक्राउ गरेपछि एल मेन्चो भनेर चिनिने नेमेसियो ओस्गुएरा सर्भान्टेसको मृत्यु भएको थियो।
उनको मृत्युले कम्तीमा २० राज्यमा अशान्ति फैलाएको छ।
हलिस्को न्यु जेनेरेसन कार्टेल मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक संगठनमध्ये एक हो। यसका नेता ‘एल मेन्चो’ देशको सबैभन्दा खतरनाक अपराधीमध्ये एक थिए।
मेक्सिकोका स्थानीय र पर्यटकले देशमा ‘हृदयविदारक’ हिंसा र अशान्ति भएको बताएका छन्।
स्थानीय र पर्यटकले रेकर्ड गरेका भिडिओमा समुद्री तटको पर्यटकीय गन्तव्य प्युर्टो भिटारियासहित धेरै सहरमा जलेका सवारीसाधन र धुवाँ निस्किरहेको देखिन्छ।
चार वर्षदेखि न्यासभिलमा बसोबासरत जेरी जोन्सले बीबीसीसँग भनेकी छन्, ‘यस्तो पहिले कहिल्यै देखेको थिइनँ।’
Shares

प्रतिक्रिया