युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानको आक्रमणबाट बचाउन खाडी मुलुकहरूमा आफ्ना विशेषज्ञ खटाउने योजना बनाइएको बताएका छन्।
इजरायल-अमेरिकाले गत शनिबार आक्रमण गरी आफ्ना सर्वोच्च नेतासहित शीर्ष नेतृत्व नै सखाप पारेपछि इरानले अमेरिकी अड्डा रहेका खाडी देशहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरिरहेको छ।
त्यसबाट बचाउन युक्रेनले खाडी मुलुकलाई सहयोग गर्न लागेको हो।
यसका लागि दुई दिनमा संयुक्त अरब इमिरेट्स, कतार, जोर्डन र बहराइनका आफ्ना समकक्षीसँग कुरा गरिएको जेलेन्स्कीले बताएका छन्।
जेलेन्स्कीले मध्यपूर्व द्वन्द्वमा आफ्ना मन्त्री र कमान्डरसँग परामर्श गरेपछि युक्रेनको सुरक्षामा सम्झौता नगरी यी खाडी देशलाई सहयोग गर्ने विकल्प विकास गर्न निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा राष्ट्रपति जेलेन्स्कीले लेखेका छन्, ‘...किन निरन्तर क्षेप्यास्त्र र ड्रोन आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे हामी राम्ररी जानकार छौँ। हामीले यस क्षेत्रमा कसरी सहयोग गर्न सक्छौँ भनेर छलफल गर्यौँ र हाम्रा टोली सम्पर्कमा रहने कुरामा सहमति जनायौँ।’
गत फेब्रुअरी २८ मा इजरायल-अमेरिकाले इरानमा आक्रमण गरेयता त्रिपक्षीय युद्ध जारी छ। बदलास्वरूप इरानले अमेरिकी हवाई अड्डा रहेका खाडीका देशमा पनि हमला गर्दा मध्यपूर्व नै युद्धमय बनेको छ।
Shares

प्रतिक्रिया