साउदी अरेबियाले पछिल्ला केही घण्टामा १० वटा ड्रोन रोकेको छ। साउदीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।
खाडीका अन्य देश संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले पनि रातभर आक्रमण गरिएको बताएका छन्।
बितेका २४ घण्टामा यस क्षेत्रमा बारम्बार आक्रमण भएको र प्रमुख पूर्वाधारलाई पनि निसाना बनाइएको बीबीसीले जनाएको छ।
शनिबार यूएईमा धेरैवटा ब्यालिस्टिक मिसाइल हानिएको थियो।
एमिरेट्स ग्लोबल एल्युमिनियमका अनुसार अबुधाबीमा रहेको प्रमुख प्लान्टमा आक्रमण गरिएको थियो।
जसका कारण ठुलो मात्रामा क्षति भएको छ भने धेरै जना कर्मचारी घाइते पनि भएका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारेयता युद्ध जारी छ।
बदलामा इरानले इजरायलसँगै अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा हवाई आक्रमण जारी राखेको छ।
यसबिच इजरायल-अमेरिकाले इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिसकेको छ।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया