भारतको पश्चिम बंगाल राज्यमा ममता बनर्जीको १५ वर्ष लामो शासन ढलेको छ। विधानसभा चुनावको मतगणना जारी रहँदा उनको तृणमूल कंग्रेस पार्टी मात्र ९७ सिटमा अगाडि छ।
बंगालमा यसअघि कहिल्यै शासन नचलाएको भारतीय जनता पार्टीले सहज बहुमत प्राप्त गर्ने देखिएको छ। २९४ सिटको विधान सभामा भाजपा १९१ सिटमा अगाडि देखिएको छ।
पश्चिम बंगालमा एउटै पार्टीले लामो समय शासन चलाउने अभ्यास रहँदै आएको छ। ममता २०११ देखि लगातार सत्तामा छिन्। त्यसअघिको तीन दशक पश्चिम बंगालमा कम्युनिस्ट पार्टीले शासन चलाएको थियो।
यसपटकको चुनावसँगै अब बंगाल भाजपा युगमा प्रवेश गरेको विश्लेषकहरूको भनाइ छ। यो प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका लागि ऐतिहासिक जित बन्ने भएको छ।
ममताको शासनकालमा राज्यमा कुशासन र गुण्डागर्दी मौलाएको आरोप भाजपाले लगाउँदै आएको थियो। उनको व्यक्तित्व बलियो हुँदाहुँदै पनि पछिल्लो समय आरजी कर बलात्कार घटनालगायत मुद्दाहरूमा ममताको सरकारले राम्रो काम गर्न नसकेको आरोप पनि लागेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया