चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकासँगको सम्बन्धलाई ‘रचनात्मक, रणनीतिक र स्थिर’ भनी व्याख्या गरेका छन्। चीन–अमेरिका सम्बन्धको यो नयाँ व्याख्या हो। अब यही दृष्टिकोण राखेर द्विपक्षीय सम्बन्धलाई आगामी तीन वर्ष र त्यसपछिसम्म निर्देशित गर्न सी र डोनाल्ड ट्रम्प सहमत भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
दुई नेताबीच बेइजिङमा भएको भेटपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीले ट्रम्पलाई भने, ‘चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको सार आपसी लाभ र दुवै पक्षको जित हुने सहकार्य हो। र, दुवै पक्षले कडा संघर्षबाट प्राप्त सकारात्मक गतिलाई कायम राख्न मिलेर काम गर्नुपर्छ।’
सीले अमेरिकी व्यवसायका लागि चीनको ढोका पहिलेभन्दा अझ बढी खुला हुने आश्वासन पनि दिए।
दुई नेताले पश्चिम एसिया, युक्रेन र कोरियाका विषयमा पनि छलफल गरेका छन्। तर, द्विपक्षीय वार्तामा सीको सबैभन्दा ठूलो जोड भने ताइवानमा थियो।
उनले चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा ताइवान भएको स्पष्ट पारे।
‘राम्ररी सम्हाल्ने हो भने हाम्रो द्विपक्षीय सम्बन्धमा समग्र स्थिरता कायम राख्न सकिन्छ। यदि ठिकसँग सम्हालिएन भने दुई देशबीच झडप र द्वन्द्व समेत हुनेछ। त्यसले चीन–अमेरिका सम्बन्धलाई निकै खतरनाक परिस्थितितिर धकेल्नेछ,’ सीले ट्रम्पलाई भने।
सीले आजै ट्रम्पको सम्मानमा राजकीय भोज दिनेछन्। शुक्रबार पुन: दुई नेताबीच छलफल हुनेछ।
Shares

प्रतिक्रिया