ग्लोबल


बेइजिङबाट के लिएर फर्किए ट्रम्प

बेइजिङबाट के लिएर फर्किए ट्रम्प

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १६:३८,

सन् २०१७ मा चीन भ्रमण गर्दा डोनाल्ड ट्रम्पले आफूसँग करिब ३० जना सीईओहरू लिएर गएका थिए। त्यो भ्रमणको अन्त्यमा २५० अर्ब डलरभन्दा बढीको ३७ वटा सम्झौता भएको थियो।

त्यसबेला चीनले ३०० वटा बोइङ खरिद गर्ने सम्झौता पनि गरेको थियो।

तर, यसपटक ट्रम्पसँग बेइजिङ जाने अमेरिकी कर्पोरेट मुखियाहरूको संख्या निकै कम रहयो। १७ जना सीईओहरू लिएर चीन पुगेका ट्रम्पले बोइङदेखि तेलसम्म थुप्रै सहमति भएको बताएका छन्। ट्रम्पले २०० विमान किन्ने सहमति भएको बताए पनि चीनले यसबारे केही बोलेको छैन। कति रकमको र कति वटा सम्झौता भयो भन्ने पनि खुलासा भएको छैन।

यसो हुनुमा गएको एक दशकमा अमेरिका र चीनबीच बिग्रेको व्यापारिक सम्बन्ध जिम्मेवार छ। ट्रम्पले चीनविरुद्ध दुई पटक व्यापार युद्ध सुरु गरिसकेका छन्। जसका कारण चीन उनीप्रति सशंकित छ। त्यसमाथि द्विपक्षीय व्यापार तथा लगानीमा भूराजनीतिक टकरावले अवरोध सिर्जना गरेको छ। 

ट्रम्पसँगको वार्तापछि सी चिनफिङले द्विपक्षीय सम्बन्ध स्थिरतातर्फ गएको बताए पनि ट्रम्प उनीहरूबीच रहेका मुख्य मतभेदका मुद्दा कुनै पनि सम्बोधन नगरी फर्केका छन्।

इरानको विषयमा दुवै पक्षका अभिव्यक्ति हेर्दा कुनै प्रगति भएको देखिँदैन। इरानलाई सहमतिमा आउन चीनले दबाब देओस् भन्ने ट्रम्प चाहन्थे। तर, चीनले यसअघिकै आफ्नो अडान मात्र दोहोर्‍याएको छ। विदेश मन्त्रालयले अगाडिको बाटो संवाद नै भएकोमा जोड दिएको छ।

इरानसँग तेल किन्ने चीनले अमेरिकी तेल किन्ने विषयमा सम्झौता हुनसक्ने देखिएको छ। तर, त्यसको विषयमा पनि केही घोषणा भइसकेको छैन। 

इरानसँगको अमेरिकी द्वन्द्व समाधानमा यो वार्ताको कुनै प्रभाव पर्छ या पर्दैन, स्पष्ट छैन। 

ताइवानका सवालमा सीले सुरुवाती भनाइमै यो अमेरिका–चीन सम्बन्धको सबभन्दा महत्वपूर्ण विषय भएको स्पष्ट पारे। र, द्विपक्षीय सम्बन्ध ठिकसँग नसम्हाल्ने हो भने चीन र अमेरिकाबीच द्वन्द्व हुने चेतावनी दिए।

यसअघि ताइवानबारे ट्रम्पको अडान परिवर्तन हुनसक्ने वा उनले ताइवानलाई सौदाको माध्यम बनाउने सक्ने चिन्ता थियो। तर, विदेशमन्त्री मार्को रुबियोले अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएका छन्।

व्यापार युद्ध हाललाई स्थगनमा रहे पनि भन्सार महसुल घटाउने विषयमा हालसम्म कुनै घोषणा भएको छैन। प्रविधि निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो हुने संकेत पनि देखिएको छैन।

त्यसैले बेइजिङबाट फर्किंदा ट्रम्पको हातमा देखाउन लायक कुनै कुरा हालसम्म देखिँदैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad