ग्लोबल


सम्झौतानजिक पुगे अमेरिका र इरान, हर्मुज खोलेबापत अमेरिकी नाकाबन्दी हट्ने

युद्धविराम ६० दिन लब्याइने, आणविक हतियारमा सौदा हुन बाँकी
सम्झौतानजिक पुगे अमेरिका र इरान, हर्मुज खोलेबापत अमेरिकी नाकाबन्दी हट्ने

नेपालखबर
जेठ १०, २०८३ आइतबार १६:०,

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन लागेको बताएका छन्। विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा महत्वपूर्ण प्रगति भएको खुलाएका छन्। 

इरानले औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाए पनि दुई पक्ष एमओयूमा हस्ताक्षरको नजिक पुगेको बताइएको छ। सो सम्झौतामा केके छ त?

अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै एक्सियोसले जनाएअनुसार सम्झौतामा युद्धविराम ६० दिन लम्ब्याउने तयारी छ। सो अवधिमा इरानले हर्मुज जलमार्ग पूर्ण रुपमा खुला गर्नेछ। उसले कुनै पनि जहाजबाट शुल्क लिने छैन र सो जलमार्गको थापेको धराप हटाउन थाल्नेछ।

बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने छ। त्यस्तै, इरानी तेल स्वतन्त्र रुपमा बेच्न पाउनेगरी आर्थिक प्रतिबन्धहरू हटाउने छ। 

अमेरिकी अधिकारीहरूका अनुसार इरानले जति चाँडो धराप हटाएर जहाजका लागि बाटो खोल्छ, उति छिटो इरानमाथिका आर्थिक प्रतिबन्धहरू खुला हुनेछन्। ६० दिनको युद्धविराम सहमतिमा लम्ब्याउने सकिनेछ।

इरानको रोक्का गरिएको रकम तत्काल फुकुवा गर्नुपर्ने उसको माग छ। तर, अमेरिकीहरूले पहिले अन्तिम सम्झौता हुनुपर्ने बताएका छन्। त्यस्तै, सो क्षेत्रमा परिचालित अमेरिकी सैनिकहरू ६० दिनपछि फिर्ता हुनेछन्। 

अर्को मुख्य विषय, आणविक हतियार हो। एमओयूको मसौदामा इरानले आणविक हतियार कहिल्यै पनि बनाउन प्रयास नगर्ने प्रतिबद्धता उल्लेख हुनेछ। त्यस्तै, युरेनियम प्रशोधन कार्यक्रम कसरी बन्द गर्ने, प्रशोधित युरेनियम कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा कुराकानी हुन बाँकी नै छ। 

यसका अलावा एमओयूमा इजरायलले लेबनानमाथि जारी राखेको आक्रमण पनि रोक्ने उल्लेख गरिनेछ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार सर्वोच्च नेता मोज्ताबा खामेनीको अनुमतिबेगर कुनै सहमति नहुने बताएका छन्। 

पाकिस्तान र पश्चिम एसियाली मुलुकहरूको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता भइरहेको छ। तर, इजरायल यो वार्ताको विरोधमा छ। सम्भावित सहमतिको समाचार सार्वजनिक भएसँगै इजरायली अधिकारीहरूले असन्तुष्टि जाहेर गरेका छन्। शनिबार बेन्यामिन नेतन्याहुले ट्रम्पसँग फोनमा कुरा गरेका थिए। 

त्यस्तै, इजरायलसँग निकट अमेरिकी नेताहरूले पनि चिन्ता प्रकट गरेका छन्। 

ह्वाइट हाउसका अधिकारीहरूले भने आइतबार नै सहमति हुनसक्ने आशा व्यक्त गरेका छन्। तर, इरान गम्भीर नभए ६० दिन नपुगी युद्धविराम भंग हुनसक्ने चेतावनी पनि उनीहरूले दिएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad