ग्लोबल


कुवेतमा मिसाइल र ड्रोन प्रहार, अमेरिका-इरान युद्धविराममा फेरि प्रश्न

कुवेतमा मिसाइल र ड्रोन प्रहार, अमेरिका-इरान युद्धविराममा फेरि प्रश्न

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १३:४१, दुबई

इरान युद्धमा कायम गरिएको नाजुक युद्धविराममा फेरि प्रश्न उठ्ने गरी कुवेतले बिहीबार आफूले मिसाइल र ड्रोन हमलाको सामना गरेको जनाएको छ।

अमेरिकाले इरानविरुद्ध आक्रमण तीव्र बनाएको र तेहरानले त्यसको प्रतिकार गरिरहेको दाबी गरिरहेका बेला आएको यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप तनावपूर्ण बनाएको छ।

कुवेती सेनाले सार्वजनिक गरेको संक्षिप्त घोषणामा मिसाइल तथा ड्रोन आक्रमण भएको पुष्टि गरिएको भए पनि कुन स्थान वा संरचनालाई निशाना बनाइएको थियो भन्नेबारे कुनै विवरण दिइएको छैन।

घटनाको जिम्मेवारी पनि तत्काल कसैले लिएको छैन। युद्धको अवधिभर कुवेत यसअघि पनि इरान तथा इरानसमर्थित सिया मिलिसियाबाट इराक क्षेत्र हुँदै बारम्बार आक्रमणको जोखिममा परिरहेको पृष्ठभूमिमा नयाँ घटनाले पुराना सुरक्षा चिन्तालाई पुनः जीवित बनाएको छ।

यो घोषणा अमेरिका-इरान युद्धविराम कायम राख्ने प्रयास तथा जारी कूटनीतिक वार्ताका बिच गरिएको हो। यद्यपि शान्ति स्थापना गर्ने प्रयासका बाबजुद विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज अझै पूर्ण रूपमा पुनः सञ्चालनमा आउन सकेको छैन।

पर्सियन खाडीको साँघुरो प्रवेशद्वारका रूपमा रहेको उक्त जलघाँटीबाट कुनै समय विश्वव्यापी तेल तथा प्राकृतिक ग्यास व्यापारको करिब पाँचौँ हिस्सा आवतजावत गर्ने गर्दथ्यो। यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ र विज्ञहरूले आगामी साताहरूमा ऊर्जा अभाव अझ चर्किन सक्ने चेतावनी दिइरहेका छन्।

यसैबिच अमेरिकाले इरानलाई उच्च स्तरमा संवर्धन गरिएको युरेनियमको मौज्दात त्याग्न दबाब दिइरहेको छ। अर्कातर्फ इस्लामिक गणतन्त्र इरानले आर्थिक प्रतिबन्ध हटाउन तथा रोक्का गरिएका सम्पत्ति फुकुवा गराएर कमजोर बन्दै गएको अर्थतन्त्रलाई राहत दिन खोजिरहेको छ।

बिहीबार बिहान अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकी सेन्ट्रल कमान्डअन्तर्गतका फौजले स्ट्रेट अफ होर्मुज आसपास खतरा उत्पन्न गरिरहेका चारवटा इरानी एकतर्फी आक्रमणकारी ड्रोन खसालेका छन्।

सार्वजनिक रूपमा बोल्न अधिकार नभएका र नाम गोप्य राख्ने सर्तमा बोलेका अधिकारीहरूका अनुसार अमेरिकी सेनाले पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेको भन्दै बन्दर अब्बासस्थित इरानी भू-नियन्त्रण केन्द्रमाथि पनि आक्रमण गरेको थियो।

इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले भने राज्य सञ्चालित इरना समाचार एजेन्सीमार्फत बन्दर अब्बास अन्तर्राष्ट्रिय विमानस्थल आसपास भएको आक्रमण स्वीकार गरेको छ। दोहोरो प्रयोग हुने उक्त विमानस्थल क्षेत्रलाई लक्ष्य बनाइएको स्वीकार गर्दै गार्डले आक्रमण सुरु गरिएको भनिएको हवाई अड्डामाथि आफ्नै प्रतिआक्रमण गरिएको दाबी पनि गरेको छ।

तर इरानी पक्षले कुन लक्ष्यमा जवाफी कारबाही गरिएको हो भन्नेबारे विस्तृत जानकारी दिएको छैन।

साथै बन्दर अब्बास क्षेत्रमा भएको सैन्य गतिविधि र कुवेतमा रिपोर्ट गरिएको मिसाइल तथा ड्रोन आक्रमणबिच प्रत्यक्ष सम्बन्ध थियो वा थिएन भन्ने विषय पनि तत्काल स्पष्ट हुन सकेको छैन। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad