डोनाल्ड ट्रम्प सरकारले सन्तानको हेरचाह र पालनपोषण बापत बुझाउनुपर्ने रकम (चाइल्ड सपोर्ट) नतिर्ने अमेरिकी अभिभावकमाथि कडा कानुनी कारवाही गर्न सुरु गरेको छ। अब लामो समयदेखि चाइल्ड सपोर्टको रकम बक्यौता राख्ने अमेरिकी नागरिकहरुको पासपोर्ट खारेज हुनसक्छ।
यो नियम आगामी जुन १ देखि विस्तारित रूपमा लागू हुँदैछ।
फक्स न्यूजका अनुसार ट्रम्प प्रशासनले सम्बन्धविच्छेद भएका वा छुट्टिएर बसेका आमाबाबुमध्ये बच्चाको जिम्मेवारी नलिने पक्षबाट बक्यौता रकम असुलउपर गर्न कडा नियम लागू गर्न लागेको हो। अमेरिकामा सम्बन्धविच्छेद पछि बालबालिकाको आधारभूत आवश्यकता (जस्तै: खाना, आवास, कपडा, स्वास्थ्य र शिक्षा) पूरा गर्न अदालत वा सरकारी एजेन्सीले ‘चाइल्ड सपोर्ट’ को रकम तोक्ने गर्छ।
सामान्यतया बच्चा जोसँग बस्छ (प्राथमिक संरक्षक), उसलाई अर्को अभिभावकले मासिक रूपमा रकम बुझाउनुपर्ने कानुनी बाध्यता हुन्छ। आफ्ना बालबालिकाको रेखदेख र पालनपोषणको रकम नबुझाउने अमेरिकाका झन्डै ३५ लाख अभिभावक छन्। उनीहरूको अन्तर्राष्ट्रिय भ्रमण गर्ने अधिकार (पासपोर्ट) खोसिने खतरा बढेको हो।
अमेरिकी अधिकारीहरूका अनुसार यो नीति चरणबद्ध रूपमा लागू गरिँदैछ। यो नीति गत मे ८ देखि नै कार्यान्वयनमा आइसकेको छ। पहिलो चरणमा १ लाख डलरभन्दा बढी ‘चाइल्ड सपोर्ट’ बुझाउन बाँकी रहेका ५० व्यक्तिको पासपोर्ट रद्द गरिएको छ। दोस्रो चरणअन्तर्गत, आगामी जुन १ देखि ७५ हजार डलर वा सोभन्दा बढी रकम तिर्न बाँकी रहेका अमेरिकीहरू निसानामा पर्नेछन्। यो नीति विस्तार हुँदै अन्ततः कम्तिमा २५ सय डलर बक्यौता रहेका सबै ३५ लाख नागरिकसम्म ठोकिनेछ।
अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको केन्द्रीय डेटाबेस प्रयोग गरी बक्यौता रहेका व्यक्तिहरूलाई सिधै ट्र्याक गर्नेछ।
यद्यपि, कारबाहीबाट बच्न सरकारले एउटा विकल्प दिएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयका अधिकारीहरूका अनुसार कारबाही सूचीमा परेका व्यक्तिहरूले समयमै सरकारी निकायसँग सम्पर्क गरी 'पेमेन्ट प्लान' (किस्ताबन्दी भुक्तानी योजना) मा सहभागी हुने सम्झौता गरेमा अहिलेका लागि उनीहरूको पासपोर्ट खारेजी गरिनेछैन।
यो नयाँ नियमको आधार ३० वर्ष पुरानो अमेरिकी कानुन हो। ट्रम्प सरकारले सन् १९९६ मा पारित भएको ‘पर्सनल रेस्पोन्सिबिलिटी एन्ड वर्क अपर्चुनिटी रिकन्सिलेसन एक्ट’को दायरालाई विस्तार गर्दै यसलाई धारिलो बनाएको हो।
Shares

प्रतिक्रिया