लेबनानमा क्रियाशील सिया इस्लामी राजनीतिक पार्टी एवं लडाकु समूह हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गर्दै अबदेखि इजरायलमा आक्रमण नगर्ने भएको छ। साथै इजरायलले पनि आफ्नो देशमा हमला नगर्ने सम्झौता भएको लेबननले जनाएको छ।
अमेरिकास्थित लेबननी दूतावासले हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको बताएको छ, जसमा दुवै पक्ष आक्रमण रोक्न सहमत भएका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेका छन्।
तर सँगसँगै उनले चेतावनी दिएका छन्, ‘हेज्बुल्लाहले हाम्रा सहर र नागरिकविरुद्ध आक्रमण गर्न बन्द गरेन भनेचाहिँ लेबननमा पनि हमला जारी राख्नेछौँ।’
सोमबार राति लेबननी दूतावासले भनेको छ, ‘यस प्रस्तावअन्तर्गत इजरायलले बेरुत (लेबननको राजधानी) का दक्षिणी क्षेत्रमा आक्रमण बन्द गर्नेछ र सट्टामा हेज्बुल्लाहले इजरायलमा हमला गर्ने छैन। युद्धविराम लेबननभर लागु हुनेछ।’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहु र हेज्बुल्लाहका प्रतिनिधिसँग कुरा गरेको बताएपछि उक्त वक्तव्य आएको हो।
ट्रम्पले भनेका छन्, दुवै पक्षले गोलाबारी बन्द गर्ने कुरामा सहमति जनाएका छन्।
Shares

प्रतिक्रिया