सर्वोच्च अदालतको निर्णयपछि लेखिका ई. जिन क्यारोलले निर्णायक मण्डल (जुरी) ले भनेअनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५० लाख डलर क्षतिपूर्ति तिर्न भनेर आदेश दिन अनुरोध गरेकी छन्।
तीन वर्षअघि निर्णायक मण्डलले ट्रम्पले क्यारोललाई यौन उत्पीडन गरेको र पछि उनको बदनाम गरेको ठहर गरेको थियो।
उक्त निर्णयविरुद्ध ट्रम्पले दिएको निवेदन अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेपछि पीडितले क्षतिपूर्ति मागेकी हुन्।
२०२३ मेमा न्युयोर्कको एक निर्णायक मण्डलले क्यारोललाई ट्रम्पले ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको थियो।
क्यारोलले ट्रम्पले १९९० को दशकमा यौन उत्पीडन गरेको भनी मुद्दा दिएकी थिइन्।
८२ वर्षीया क्यारोल पहिले पत्रिकाको स्तम्भकार थिइन्।
उनले ट्रम्पले १९९० को दशकको मध्यमा म्यानहट्टनको बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ट्रायल रुममा यौन उत्पीडन गरेको उल्लेख गरेकी थिइन्।
साथै ट्रम्पले २०२२ मा ट्रुथ सोसलमा आरोप झुटा भनी लेखेर बदनाम गरेको पनि उनले उल्लेख गरेकी थिइन्।
Shares

प्रतिक्रिया