भारतको उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले २२७ जना सवार इन्डिगो एयरलाइन्सको विमान खराब मौसमका कारण आपत्मा पर्दा पनि पाकिस्तानले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको गुनासो गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार डीजीसीएले भनेको विज्ञप्तिमार्फत बताएअनुसार यही मे २१ का दिन पठानकोटनजिकै इन्डिगो एयरलाइन्सको विमान उडिरहेका बेला अचानक मौसम खराब भयो र विमान एयर टर्ब्युलेन्समा फस्यो।
त्यसपछि उडान नम्बर ६ई-२१४२ का चालक दलले लाहोरलाई सम्पर्क गरी पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न अनुरोध गर्यो तर पाकिस्तानले त्यो अस्वीकार गर्यो।
दिल्लीबाट श्रीनगर उडान गरिरहेको इन्डिगो विमानको चालक दलले अनुमति नपाएपछि सबै प्रोटोकल पालना गर्दै खराब मौसमका बीच विमानलाई श्रीनगरमा सुरक्षित अवतरण गरायो।
डीजीसीएले विज्ञप्तिमा भनेको छ, ‘विमानमा सवार कुनै पनि यात्रु घाइते भएका छैनन् तर विमानको अगाडिको भाग ‘नोज रेडोम’मा क्षति पुगेको छ।’
विमानमा २२७ जना यात्रु थिए।
गत अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंकवाद हमलापछि भारतले आफूविरुद्ध विभिन्न कूटनीतिक कारबाही गरेपश्चात् पाकिस्तानले पनि भारतीय विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध घोषणा गरेको थियो।
विवाद चर्किंदै जाँदा एकअर्काविरुद्ध सैन्य आक्रमणमा समेत उत्रिएका भारत र पाकिस्तानबीच मे १० का दिन युद्धविराम सम्झौता भए पनि उनीहरूले यसअघि गरिएका कूटनीतिक कारबाही भने फिर्ता घोषणा गरिसकेका छैनन्।
Shares

प्रतिक्रिया