अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको बढ्दो मूल्य घटाउन अमेरिकी सरकारले रणनीतिक पेट्रोलियम रिजर्भबाट तेल निकाल्ने घोषणा गरेका छन्।
उनले इरानसँगको युद्धले तेलको मूल्य बढेको बताएका छन्, त्यसैले रिजर्भको एक भाग प्रयोग गरिने उनको भनाइ छ।
ट्रम्पले भनेका छन्, 'यसले पेट्रोलको मूल्य घटाउनेछ र रिजर्भ पछि पुनःपूर्ति गरिनेछ।'
यद्यपि उनले कति तेल छाडिनेछ भनेर प्रस्ट पारेनन्।
ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सेनाले उल्लेखनीय क्षति बेहोरेको दाबी गरेका छन्।
इरानका नौसेना र वायु सेना कमजोर भएको जिकिर उनले गरेका छन्।
उनले भने, 'अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना छ।'
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।
यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया