अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जल मार्ग (स्ट्रेट अफ हर्मुज)मा युद्धपोत पठाउन गरेको आग्रहलाई जर्मनी र ग्रिसले अस्वीकार गरेको छ।
दुई हप्तादेखि जारी अमेरिका–इजरायल र इरान युद्धको क्रममा इरानले हर्मुज जल मार्गबाट ठप्प पारेपछि राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरुलाई त्यस क्षेत्रमा युद्धपोत पठाउन आग्रह गरेका थिए। यसको प्रतिक्रिया दिँदै जर्मनी र ग्रिसले सेनासहितको आफ्नो युद्धपोत पठाउन अस्वीकार गरेको हो।
‘जबसम्म यो युद्ध जारी रहन्छ, तबसम्म जर्मनीले यसमा कुनै सहभागिता जनाउने छैन, यहाँसम्म कि सैन्य माध्यम प्रयोग गरेर स्ट्रेट अफ होर्मुज खुला राख्ने कुनै प्रयासमा पनि सहभागी हुने छैन,’ जर्मन सरकारका एक प्रवक्ताको भनाइ उधृत गर्दै अल जजिराले लेखेको छ ।
ग्रीसले पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा कुनै सैन्य कारबाहीमा संलग्न नहुने ग्रीस सरकारका प्रवक्ता पाभ्लोस मरिनाकिसले बताएको अल जजिराले उल्लेख गरेको छ।
अमेरिकाका सहयाेगी बेलायतले भने अमेरिकाको आग्रहबारे सहयोगी राष्ट्रहरुसँग छलफल गरिरहेको जनाएको छ । ब्रिटिस प्रधानमन्त्री केयर स्टार्मरको भनाई उधृत गर्दै विविसिले भनेको छ– बेलायती सेना पठाउने कि नपठाउने निर्णय कुनै पनि प्रधानमन्त्रीका लागि सबैभन्दा कठिन प्रश्न हुने हो ।
उनले बेलायतका सैनिकहरूलाई जोखिमपूर्ण परिस्थितिमा पठाउनु अघि त्यो काम कानुनसम्मत छ छैन भन्नेबारे राम्ररी सोच्ने बताएका छन् । ‘जति नै दबाब आए पनि हामी बेलायती हितका पक्षमा दृढ भएर उभिन्छौँ’ स्टारर्मरले भनेका छन् ‘मलाई विश्वास छ , हामीले सही दृष्टिकोण लिएका छौँ भन्ने समयले देखाउने छ ।’
अमेरिका र इजरायलको आक्रमणबाट इरानको सैन्य शक्ति निक्कै कम्जोर भइसकेको उल्लेख गर्दै उनले युद्धलाई थप अघि नबढाई तत्तकाल अन्त्य गर्नु नै अहिलेको सबभन्दा उचित समाधान भएको उनको धारणा छ।
चीनले सहयोग गर्ने ट्रम्पको अपेक्षा
राष्ट्रपति ट्रम्पले हर्मुज नाका सञ्चालनका लागि चीनले सहयोग गर्ने अपेक्षा रहेको बताएका छन्। फाईनासियल टाइम्समा सोमबार प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन् कि महिनाको अन्त्यतिर चीनका राष्ट्रपति सि जिन पिङसँग हुने शिखर बैठक अघि हर्मुज नाका खोल्न चीनले सहयोग गर्ने कि नगर्ने थाहा पाउन चाहन्छन्।
यदि स्पष्ट जवाफ नआएमा उनले आफ्नो भ्रमण स्थगित गर्न पनि सक्ने बताएका छन्। यता इरानले भने अमेरिका र इजरायलका सहयोगीबाहेक अन्य देशलाई निर्वाध हर्मुज जलमार्ग प्रयोग गर्न दिने बताएको छ । पछिल्ला रिपोर्टहरूमा इरानले तेल कारोबार चिनियाँ युआनमा हुने भए केही तेल ट्यांकरहरूलाई हर्मुज पार गर्न दिन सक्ने विषयमा विचार गरिरहेको बताइएको छ ।
Shares

प्रतिक्रिया