जारी इजरायल-अमेरिका र इरान युद्धका बिच जलमार्ग होर्मुज स्ट्रेट पार गर्दै तेल लिएर भारतीय जहाज भारत आइपुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय झण्डा भएको तेल ट्यांकर ‘जग लड्की’ बुधबार गुजरातको मुन्द्रास्थित अदानी बन्दरगाह आइपुगेको हो। यो यूएईको फुजैराह बन्दरगाहबाट स्ट्रेट अफ होर्मुज हुँदै भारत आइपुगेको हो।
यसले ८० हजार ८८६ मेट्रिक टन (लगभग ५.८–६ लाख ब्यारेल) कच्चा तेल ल्याइपुर्याएको छ।
#WATCH | The Indian-flagged crude oil tanker 'Jag Laadki' arrived at Adani Ports Mundra in Gujarat.
It carried approximately 80,886 metric tonnes (MT) of crude oil—sourced from the UAE—loaded at Fujairah Port.
(Video Source: Adani Port) pic.twitter.com/5zeosrpVbp — ANI (@ANI) March 18, 2026
भारतले दैनिक लगभग ५.५–५.६ मिलियन ब्यारेल (लगभग ९० करोड लिटर) तेल खपत गर्छ।
यसअघि मंगलबार भारतको नन्द देवी जहाज गुजरातको वादिनार बन्दरगाहमा आइपुगेको थियो।
यो जहाजले लगभग ४६ हजार ५०० मेट्रिक टन तरल पेट्रोलियम ग्यास (एलपीजी) ल्याएको थियो।
यस्तै सोमबार भारतीय जहाज शिवालिक एलपीजी बोकेर मुन्द्रा बन्दरगाहमा आइपुगेको थियो।
यो जहाजले लगभग ४६ हजार मेट्रिक टन एलपीजी ल्याएको छ। जुन लगभग ३.२४ मिलियन घरेलु ग्यास सिलिन्डर बराबर थियो।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ। जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुजका एकातिर ओमान र यूएई छन् भने अर्कातिर यो इरानको बिचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
Shares

प्रतिक्रिया