आइतबार हङकङबाट लन्डनका लागि उडेको केही समयपछि ब्रिटिस एयरवेजको जहाज बीए३२ मा एक महिला यात्रुको मृत्यु भएको छ।
फक्स न्युजका अनुसार जहाज उडिरहेकै बेला ६० वर्षीया महिला यात्रुको मृत्यु भएको हो। तर उनको शव १३.५ घण्टाको यात्राको बाँकी समयका लागि विमानको पछाडि राखियो।
एयरबस ए३५०-१००० का पाइलटहरूले महिला यात्रुको मृत्यु भए पनि हङकङ फिर्ता वा मार्ग परिवर्तन गर्नुको सट्टा हिथ्रो विमानस्थल पुग्ने उडान जारी राखे। किनकि यात्रुको मृत्युलाई सामान्यतया चिकित्सा आपत्कालीन मानिँदैन।
चालक दलका सदस्यहरूले सुरुमा महिलाको शव शौचालयमा राख्ने विचार गरे, तर यो विकल्प ठिक ठानिएन। बरु शवलाई लुगथालाई बेरेर पछाडिको ग्यालीमा सारियो।
एक स्रोतले भन्यो, ‘महिलाको परिवार र चालक दल पनि निकै दु:खी भएका थिए। धेरै जना हङकङ फर्कन चाहन्थे। तर स्पष्ट रूपमा भन्नुपर्दा कुनै यात्रुको पहिले नै मृत्यु भइसकेको छ भने त्यसलाई आपत्कालीन अवस्था मानिँदैन।’
तर गर्मीले गर्दा विमानमा शवको दुर्गन्ध फैलिएको थियो। विमान लन्डन नजिकिँदै गर्दा ३३१ यात्रु र चालक दलका धेरै सदस्यले दुर्गन्ध आएको गुनासो गरेका थिए।
अवतरणपछि प्रहरी विमानभित्र पसे र सबै यात्रुलाई लगभग ४५ मिनेटसम्म बस्न भने।
ब्रिटिस एयरवेजले घटनाका बेला सबै प्रक्रिया पालना गरिएको बताएको छ।
ब्रिटिस एयरवेजले भनेको छ, ‘दुःखको कुरा जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ र यस कठिन समयमा उनको परिवार र साथीहरूप्रति समवेदना छ।’
Shares

प्रतिक्रिया