ग्लोबल


युरोपेली नेतासहितको ट्रम्प–जेलेन्स्की बैठकका चार महत्त्वपूर्ण कुरा

ट्रम्पलाई पत्र दिँदै जेलेन्स्कीले भने, ‘यो तपाईंका लागि होइन, तपाईंकी श्रीमतीका लागि’
युरोपेली नेतासहितको ट्रम्प–जेलेन्स्की बैठकका चार महत्त्वपूर्ण कुरा

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १२:०, काठमाडौँ

युक्रेनमा युद्ध अन्त्य गर्ने उद्देश्यले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फेरि ह्वाइट हाउस पुगे। बैठकमा भाग लिन धेरै जना युरोपेली नेता पनि वासिङ्टन पुगेका थिए। 

केही दिनअघि मात्र ट्रम्पले अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। 

तर ३ घण्टा चलेको त्यो बैठकमा युक्रेन र रुसबीच युद्धविराम गर्ने विषयमा सम्झौता हुन सकेन। 

सोमबार युरोपेली नेताहरूसहितको जेलेन्स्की-ट्रम्प वार्तामा पनि कुनै ठोस सहमति भएन। 

ट्रम्पको सबैभन्दा उल्लेखनीय लक्ष्यमध्ये एक जेलेन्स्की र पुटिनसँग त्रिपक्षीय बैठक गर्नु हो।

सोमबार युरोपेली नेताहरूसँगको आफ्नो वार्ताअघि उनले अहिलेको विषय ‘यस्तो बैठक कहिले हुन्छ, हुन्छ कि हुँदैन’ भन्ने रहेको बताएका थिए। 

१. होला पुटिन-जेलेन्स्की भेट?

वार्तापछि डोनाल्ड ट्रम्पले पुटिनलाई फोन गरेर रुसका नेता र जेलेन्स्कीबीच द्विपक्षीय वार्ताका लागि ‘तयारी’ सुरु गर्न आग्रह गरिएको बताए। ट्रम्पका अनुसार पुटिन र जेलेन्स्कीबीच द्विपक्षीय बैठकपछि त्रिपक्षीय बैठक हुनेछ, जसमा उनी पनि सामेल हुनेछन्।

पुटिनका एक सल्लाहकारले बताएअनुसार ट्रम्प र पुटिनबीच सोमबार ४० मिनेट फोनमा कुरा भयो। 

युरोपेली नेताहरूले ट्रम्पसँग औपचारिक वार्ता गर्नुअघि ट्रम्प र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच भएको कुराकानी माइक्रोफोनले रेकर्ड गरेको छ। 

कुराकानीमा ट्रम्पले पुटिनलाई संकेत गर्दै म्याक्रोनलाई भने, ‘मलाई लाग्छ- उनी सम्झौता गर्न चाहन्छन्। मलाई लाग्छ- उनी मेरा लागि सम्झौता गर्न चाहन्छन्। तपाईंले यो बुझ्नुभयो? यो सुन्दा अनौठो लाग्न सक्छ।’

फेब्रुअरी २०२२ मा रुसको आक्रमणपछि पहिलोपटक वार्ताको टेबलमा दुई कट्टर शत्रुलाई आमनेसामने ल्याउन कति सजिलो हुन्छ भनेर हेर्न बाँकी छ। महिनौँदेखि जेलेन्स्कीले पुटिनसँग भेटघाटका लागि दबाब दिइरहेका छन्।

तर जेलेन्स्कीले कहिले पनि पुटिनसँगको भेटले युद्ध रोक्ने संकेत गरेका छैनन्।

बरु उनी सम्भवतः रुस शान्तिप्रति गम्भीर छैन र पुटिनलाई त्यस्तो भेटघाटमा सहमत हुन कुनै रुचि छैन भन्ने कुरा प्रमाणित गर्न खोजिरहेका छन्। 

पुटिनले विगतमा के भनेका छन् भने उनी जेलेन्स्कीलाई ‘अवैध’ (राष्ट्रपति) मान्छन्, किनभने युक्रेनमा युद्ध सुरु भएदेखि मार्सल लको बीचमा कुनै चुनाव भएको छैन। रुसले पुटिन-जेलेन्स्की द्विपक्षीय वार्ता गर्ने कुरालाई बारम्बार अस्वीकार गरेको छ।

दुई हप्ताअघि रुसले के तर्क गरेको थियो भने दुई देशबीचका अन्य मतभेद कम नभएसम्म दुई राष्ट्रपति भेट्नुको कुनै अर्थ छैन। 

२. युद्धविरामबाट पछि हटे ट्रम्प
युद्ध अन्त्य गर्न वार्ता सुरु हुनुभन्दा पहिले युद्धविरामको आवश्यकतालाई ट्रम्पले अस्वीकार गरेको देखिन्छ।

अहिलेसम्म यो युक्रेनको प्रमुख माग के हो भने रुससँग थप वार्ता र अन्ततः दीर्घकालीन समाधानका लागि ऊ युद्धविरामलाई आवश्यक सर्त मान्छ। 

युद्धविराममा सहमति जनाउनु पूर्ण शान्ति सम्झौताभन्दा केही हदसम्म सजिलो हुन सक्छ, किनकि सम्झौतामा पुग्न धेरै महिना लाग्न सक्छ र यसबीच रुसको आक्रामकता जारी रहने सम्भावना छ।

ट्रम्पले भने, ‘मलाई यो आवश्यक छैनजस्तो लाग्छ।’

तर युरोपेली नेताहरूले यसको विरोध गरे, जर्मन चान्सलर फ्रेडरिक मर्जबाट सबैभन्दा कडा प्रतिक्रिया आयो।

मर्जले भने, ‘म युद्धविरामबिना अर्को बैठक हुने कल्पना गर्न सक्दिनँ, त्यसैले त्यसमा काम गरौँ र रुसलाई दबाब दिने प्रयास गरौँ।’

जब जेलेन्स्कीलाई यस विषयमा बोल्न भनियो, उनले पहिलेजस्तो युद्धविरामको माग दोहोर्‍याएनन्।

३. ट्रम्पले गरे सुरक्षा ग्यारेन्टीको संकेत
डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई युद्ध अन्त्यका लागि गरिने सम्झौतामा युक्रेनको सुरक्षाको ग्यारेन्टी गर्न मद्दत गर्ने आश्वासन दिएका छन्। यद्यपि ट्रम्पले कस्तो सहयोग, स्पष्ट गरेनन्। 

अमेरिकाका राष्ट्रपतिले जमिनमा सेना पठाउने प्रस्ताव गरेनन्। तर जब पत्रकारले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा अमेरिकी सैन्य बलको उपस्थिति पनि हो भनेर सोधे, तब ट्रम्पले यसलाई सिधै अस्वीकार गरेनन्।

उनले भने, ‘सुरक्षाको पहिलो जिम्मेवारी युरोपको हो तर हामी पनि यसमा संलग्न हुनेछौँ।’

राष्ट्रपति ट्रम्पले थपे, ‘हामी उनीहरूलाई राम्रो सुरक्षा दिनेछौँ।’

सुरक्षा ग्यारेन्टीका विषयमा ट्रम्पको यो भनाइ अहिलेसम्मकै निर्णायक मानिन्छ, जुन रुससँग हुने कुनै पनि सम्झौताका लागि अत्यन्त महत्त्वपूर्ण ठानिन्छ।

उनले के पनि भने गत हप्ता अलास्कामा भएको वार्तामा पुटिनले शान्ति सम्झौतामा युक्रेनका लागि सुरक्षा ग्यारेन्टी समावेश हुने कुरा स्वीकार गरेका छन्। 

सोमबार ट्रम्पसँग भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, सुरक्षा ग्यारेन्टीको एक हिस्सास्वरूप अमेरिका र युक्रेनबीच ९० अर्ब डलरको हतियार सम्झौता हुनेछ।

उनले थपे, ‘यसमा युक्रेनसँग हाल नभएका अमेरिकी हतियार हुनेछन्। जस्तै: उड्डयन प्रणाली, क्षेप्यास्त्रविरोधी प्रणाली र अन्य चिज, जसबारे म केही भन्ने छैन।’

जेलेन्स्कीका भनाइमा- अमेरिकाले युक्रेनी ड्रोन किन्नेछ, जसले यी ड्रोनको घरेलु उत्पादनलाई आर्थिक सहयोग गर्नेछ।

उनले पत्रकारहरूलाई बताएअनुसार युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे सम्भवतः १० दिनभित्र निर्णय गरिनेछ।

४. जेलेन्स्कीको बदलिएको शैली

गत फेब्रुअरीमा ओभल अफिसमा भएको तीतो अनुभवलाई ध्यानमा राख्दै यसपटक युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सौहार्दपूर्ण हुन र आफ्ना अमेरिकी आयोजकलाई प्रभावित पार्न धेरै प्रयास गरेको देखियो। यसअन्तर्गत उनले बैठकको केही मिनेटअघि छपटक 'धन्यवाद' भने। 

गत फेब्रुअरीमा जेलेन्स्की ह्वाइट हाउसमा हुँदा अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आफ्नो देशले युद्धमा गरेको सहयोगका लागि कृतज्ञता व्यक्त नगरेको भनी आलोचना गरेका थिए। 

अनि फेब्रुअरीको बैठकमा विवादको अर्को कुरा जेलेन्स्कीको पोसाक पनि थियो। उनले त्यतिबेला सैन्य पोसाक लगाएका थिए। 

तर यसपटक जेलेन्स्कीले आफ्नो परम्परागत सैन्य पोसाकको सट्टा सुट लगाएका थिए।

पत्रकारहरूले फेब्रुअरीको कुरा झिकेर जिस्क्याएपछि जेलेन्स्कीले भने, ‘तपाईं देख्न सक्नुहुन्छ- म परिवर्तन भएको छु।’

जेलेन्स्कीले बैठकका क्रममा पारिवारिक सम्बन्ध निर्माण गर्ने प्रयास पनि गरे। उनले आफ्नी पत्नी अर्थात् युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्काले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई लेखेको पत्र पनि दिए।

ट्रम्पलाई पत्र दिँदै उनले भने, ‘यो तपाईंका लागि होइन, तपाईंकी श्रीमतीका लागि हो।’

त्यसैगरी बहुपक्षीय बैठकअघि अन्य युरोपेली नेताहरूले पनि ट्रम्पको प्रशंसा गरे।

ट्रम्पलाई सम्बोधन गर्दै, नेटो प्रमुख मार्क रुट्टले भने, ‘म तपाईंको नेतृत्वको लागि साँच्चै धन्यवाद दिन चाहन्छु।’

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले ट्रम्पका कारण केही परिवर्तन भएको बताइन्। 

युरोपेली नेताहरूले भविष्यमा रुसबाट असुरक्षित महसुस गरेको कुरा स्पष्ट पार्ने प्रयास गरे।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अन्य नेतालाई गम्भीर स्वरमा भने, ‘जब हामी सुरक्षा ग्यारेन्टीबारे कुरा गर्छौं, तब हामी युरोपेली महादेशको सुरक्षाबारे पनि कुरा गरिरहेका हुन्छौँ।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad