भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले राष्ट्रपति निकोलस मदुरो पक्राउ गरेकामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेकी छन्।
त्यति मात्र होइन, उनले अमेरिकि राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएकोसमेत बताइन्।
२०२५ को नोबेल शान्ति पुरस्कार विजेता मचाडोले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘भेनेजुएलामा ट्रम्पले चालेको कदमले विश्वसमक्ष यो (नोबेल शान्ति पुरस्कार पाउने) प्रमाणित गरेको छ। भेनेजुएलाविरुद्ध अमेरिकी कारबाही मानवताका लागि ठुलो कदम हो।’
अन्तर्वार्तामा भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले ट्रम्पको कार्यका लागि ‘धेरै आभारी’ रहेको दोहोर्याइन्।
देश फर्कने सन्दर्भमा उनले भनेकी छन्, ‘सकेसम्म चाँडो फर्कन चाहन्छु।’
हाल उनी नर्वेमा छिन्।
शनिबार (जनवरी ३) मदुरो दम्पतीलाई पक्रिनासाथ ट्रम्पले फक्स न्युज टीभीसँग भेनेजुएलाको सत्ता विपक्षी नेतालाई सुम्पने विषयमा विचार गरिरहेको बताएका थिए।
हाल मदुरो दम्पती न्युयोर्कस्थित हिरासतमा छन्। सोमबार मात्र उनीहरूलाई त्यहाँको अदालत उपस्थित गराइएको थियो।
त्यस क्रममा मदुरोले आफूले कुनै अपराध नगरेको बयान दिएका छन्।
Shares

प्रतिक्रिया