साउदी अरेबियाले आफ्नो देश र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने बताएको छ।
साउदी प्रेस एजेन्सीले साउदी मन्त्रिपरिषद्लाई उद्धृत गर्दै लेखेको छ, ‘इरानबाट हुने सम्भावित आक्रमणको जवाफ दिन साउदी अरेबिया आफ्ना सहयोगीहरूसँग उभिएको छ र आवश्यक परेमा उनीहरूलाई सहयोग गर्न आफ्ना सबै क्षमता प्रयोग गर्न तयार छ।’
सोमबार साउदी अरेबियाको राजधानी रियादमा रहेको अमेरिकी दूतावासमा रहेको केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) स्टेसनलाई लक्ष्य गरी ड्रोन आक्रमण गरिएपछि साउदीले त्यसो भनेको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र साउदी अरेबिया दुवैले दूतावास परिसरमा दुई ड्रोन प्रहार गरेको पुष्टि गरेका छन्। यद्यपि सीआईए लक्षित थियो कि थिएन भन्ने कुरा स्पष्ट छैन।
वासिङटन पोस्टका अनुसार आक्रमणका कारण दूतावासको छतको एक भाग मात्र भत्किएको छ।
दूतावासका कर्मचारीहरूलाई हालका लागि सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ।
गत शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा हवाई हमला जारी राखेका छन्।
पहिलो दिन उनीहरूले त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिसकेका छन्।
त्यसको जवाफमा इरानले पनि शनिबारैदेखि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका खाडी मुलुकमा क्षेप्यास्त्र/ड्रोन प्रहार गरिरहेको छ।
Shares

प्रतिक्रिया