अमेरिका–इजरायल र इरान युद्धमा नयाँ मोड देखिएको छ । एक दुई हप्तामै इरानलाई गलाउने लक्षसहित शुरु भएकाे अमेरिका-इजरायल र इरान युद्ध लम्बिरहेको छ। युद्ध शुरु भएको दुई हप्ता वितिसक्दा अमेरिका र इजरायल रक्षात्मक जस्तो र इरान आक्रमक जस्तो देखिन थालेको छ।
अमेरिका र इजरायलले आक्रमण शुरु गर्दा त्यहाँको मूल नेतृत्वलाई हटाएपछि भेनेजुयला जस्तै दोस्रो तहमा रहेका नेताहरूले आत्मा समर्पण गर्ने र आफ्नो छायाँ सत्ता स्थापना गर्न सकिने अनुमानसहित युद्ध शुरू गरेको अन्तर्राष्ट्रिय मामिला विज्ञहरूको विश्लेषण छ । तर अनुमान विपरित खमेनीको हत्यापछि त्यहाँ उनीभन्दा कट्टरपन्थी छोरा मोज्तावा खमेनी नेतृत्वमा आएको बताईन्छ।
अमेरिका र इजरायलको आक्रमणबाट इरानले अरबौँको क्षति ब्यहोरेको छ । तर देशको स्वाभिमान र सुरक्षाको सन्दर्भमा अभूतपूर्व एकता देखिएको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अहिले स्थिति यस्तो छ कि आकाश अमेरिका र इजरायलको मिसाइलले ढाकिरहेको छ, त्यसको डर मान्नुका अलवा इरानी जनताहरू सडकमा खुलेआम प्रतिरोध जुलुशमा सहभागी भइरहेका छन्।
पूर्वानुमान विपरित इरानमा सत्ता परिवर्तन सम्भव नदेखिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध छोट्याईने भनाइ सार्वजनिक भएको छ । जवाफमा इरानका नवनिर्वाचित सर्वोच्च नेताले आफूहरू वर्षौँ युद्ध लड्ने तर अमेरिकासामू आत्मासर्पण नगर्ने धारणा सार्वजनिक गरेका छन् ।
उनले युद्ध अन्त्य वा युद्ध विरामका लागि उनले तीन वटा सर्त अघि सारेका छन्। एक, युद्धबाट भएका क्षतीको क्षतिपूर्ति हुनुपर्ने, दुई भविश्यमा आफूमाथि आक्रमण नहुने सुनिश्चित हुनुपर्ने र तीन इरानको सार्वभौमिक अधिकार सुनिश्चित हुनुपर्ने । अमेरिका युद्ध लम्ब्याउन नचाहनु तर इरान युद्ध लड्न उद्धत हुनुले जारी युद्धमा दुई पक्षको स्थान निर्धारण गरिरहेको छ।
इरानलाई रूस र चीनको साथ
युद्ध शुरू हुनुभन्दा अघि धेरैले इरानलाई रूस र चीनको साथ हुने आँकलन गरेका थिए । अमेरिकाले आफ्नो सबैभन्दा शक्तिशाली युद्धपोत इरानको खाडीतर्फ अघि बढाएपछि इरान–चीन र रूसबीच भएको युद्धभ्यासले त्यसको झल्को दिएको कतिपयको विश्लेषण थियो । अनुमान विपरित दुई देशले इरानलाई भौतिक रूपमा कुनै सहयोग गरेको देखिएन ।
यसपछि धेरैले इरान केहि दिनमै ढल्ने अनुमान लगाएका थिए । तर पछिल्ला रिपोर्टहरूले प्रष्ट पारेको छ कि रूस र चीनले इरानलाई प्रत्यक्ष सहयोग गरिरहेका छन् । उनीहरू इरानको साथमै छन् ।
कसरी? अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार चीन र रूसले इरानलाई आफ्ना अत्याधुनिक भू—उपग्रहहरूमार्फत अमेरिका र इजरायलको ठेगाना तथा 'मूभमेन्ट'हरूबारे जानकारी दिएर प्रत्यक्ष सहयोग गरिरहेका छन् । यसबारे विशेष रिपोर्ट सार्वजनिक गर्दै अल जजिराले लेखेको छ– रूस र चीन तेहरानलाई सहायता गर्न सेना पठाइरहेका छैनन्। उनीहरूले अझ दीर्घकालीन कुरा गरिरहेका छन्—उनीहरूले इरानलाई हेर्न सिकाइरहेका छन्।
आज संकेतहरू नै नयाँ गोलीहरू हुन्। जसले विद्युत्–चुम्बकीय 'स्पेक्ट्रम' नियन्त्रण गर्छ, उसैले युद्धको नियन्त्रण गर्छ। युद्धमा हालसम्म कुनै पक्षले पूर्ण नियन्त्रण हासिल गर्न सकेको छैन—र यही तथ्य स्वयंमा ठूलो रणनीतिक परिवर्तन हो। खाडी क्षेत्र अहिले यस्तो युद्धको पहिलो प्रमुख क्षेत्र बन्दैछ जहाँ इलेक्ट्रोनिक युद्ध परम्परागत आगो शक्तिभन्दा पनि निर्णायक हुन सक्छ। गठबन्धनहरू अब सैनिक तैनाथी वा सन्धि हस्ताक्षरबाट मात्र होइन, गुप्तचर सूचना प्रवाह र उपग्रह सञ्जालबाट पनि परिभाषित भइरहेका छन्।
आज रडार किरणहरू पनि क्षेप्यास्त्रजत्तिकै घातक भइसकेका छन्। गुप्तचर सूचना नै निर्णायक मुद्रा बनेको छ। यस संकेतहरूको युद्धमा इरान पहिले कहिल्यै नपाएको समानताको खोजीमा छ र पहिलो पटक त्यस्ता साझेदारहरू उसँग छन् जसले त्यो सम्भव बनाउन सक्छन्।अमेरिका र इजरायलका लागि चुनौती अब केवल तेहरानलाई शक्तिमा जित्नु मात्र होइन। वास्तविक चुनौती यो सुनिश्चित गर्नु हो कि जब ट्रिगर थिचिन्छ, अन्धो भएर गोली चलाउने पक्ष इरान नै होस्।
अब प्रश्न खाडी क्षेत्रमा युद्ध भड्किन्छ कि भड्किँदैन भन्ने होइन—यो त सुरु भइसकेको छ। वास्तविक प्रश्न यो हो कि जब धुवाँ हट्छ, तब स्पष्ट रूपमा देख्न को सक्षम हुनेछ। तीन जना वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै वासिङगट पोष्टले रूसले इरानलाई संवेदनशील गुप्तचर जानकारी उपलब्ध गराइरहेको समाचार प्रकाशित गरेको छ ।
प्रकाशित समाचार अनुसार रूसले मध्यपूर्वभर सञ्चालनमा रहेका अमेरिकी युद्धपोत र विमानहरूको सटीक स्थानबारे इरानलाई जानकारी दिइरहेको छ । अलजजिरा लेख्छ– त्यसले केवल एक सामरिक गठबन्धन मात्र उजागर गरेन। त्यसले युद्धको एउटा नयाँ प्रकारको संरचना पनि प्रकट गर्यो।
यो यस्तो युद्ध हो जसमा कुनै स्पष्ट अग्रपंक्ति छैन। यस्तो युद्ध जसमा ट्यांक वा क्षेप्यास्त्र प्रयोग गरिँदैन । बरु रडार किरणहरू, उपग्रहबाट प्राप्त तथ्याङ्क र गुप्त रूपमा सङ्केतित समन्वयाङ्कहरू प्रयोग गरिन्छ। आज खाडी क्षेत्रमा युद्धभूमि विद्युत्–चुम्बकीय 'स्पेक्ट्रम' हो, र दुवै पक्षको मुख्य उद्देश्य प्रतिद्वन्द्वीलाई अन्धो बनाउनु हो।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तामा मस्कोले इरानलाई यस्तो गुप्तचर जानकारी साझा गरिरहेको भन्ने आरोप अस्वीकार गरेको बताइएको छ। तर यो अस्वीकारोक्तिले वास्तविकता धेरै परिवर्तन गर्दैन। रूसले युक्रेन युद्धका लागि इरानबाट ड्रोन र गोलाबारुद प्राप्त गरेको छ।
त्यस्तै, अमेरिकाले युक्रेनलाई रूसी लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग हुने लक्ष्य निर्धारणसम्बन्धी जानकारी उपलब्ध गराएको पनि मस्कोले देखिरहेको छ—जसमध्ये केही आक्रमणहरू पुटिनका निवास नजिकका स्थानहरूमा समेत भएका थिए। यस्तो अवस्थामा मस्कोको रणनीतिक गणना बुझ्न गाह्रो छैन। गुप्तचर सूचना एक प्रकारको मुद्रा हो, र पुटिनले अहिले त्यही मुद्रा खर्च गरिरहेका छन्।

संकेतहरू नै हतियार
पूर्व सिआईएका अधिकारी ब्रुुस रिडेलले एकपटक भनेका थिए, आधुनिक युद्धमा समन्वयाङ्कहरू प्रायः गोलीभन्दा बढी मूल्यवान हुन्छन्। जसले शत्रुको स्थान थाहा पाउँछ, अन्ततः उसैले युद्ध जित्छ। यो सिद्धान्त अहिले खाडी क्षेत्रमा प्रत्यक्ष रूपमा देखिँदैछ।
रूसको गुप्तचर सूचना आपूर्ति प्रणालीले इरानलाई अमेरिकी तथा इजरायली सैन्य सम्पत्तिहरू सटीक रूपमा पहिचान गर्न सक्षम बनाएको छ—यस्तो क्षमता जुन तेहरानले एक्लै हासिल गर्न सक्दैनथ्यो। इरानसँग सैन्य निगरानीका लागि सीमित मात्रामा उपग्रहहरू छन्, जुन खुला समुद्रमा तीव्र गतिमा चल्ने नौसैनिक साधनहरूको निगरानी गर्न पर्याप्त छैनन्। तर रूससँग यस्तो सीमा छैन।
यसको उन्नत उपग्रह निगरानी सञ्जाल—जसमा ‘कानेपस–५’ उपग्रह पनि समावेश छ, जसलाई इरानले प्रयोग गर्दा ‘ख्यायम’ नाम दिइएको छ—ले तेहरानलाई चौबीसै घण्टा अप्टिकल र रडार चित्रहरू उपलब्ध गराउँछ। इरानका लागि यो केवल सैन्य क्षमताको पूरक होइन, यो यसको सटीक आक्रमण सिद्धान्तको स्नायु प्रणाली नै हो।
कुवेतस्थित अमेरिकी सैन्य सुविधामा ठोक्किएर छ अमेरिकी सैनिकहरूको मृत्यु गराएको ड्रोनले आफ्नो लक्ष्य संयोगवश भेटेको थिएन। अमेरिकी रक्षामन्त्रालय (पेन्टागन) का अधिकारीहरूले, नाम गोप्य राख्ने सर्तमा बोल्दै, हालैका धेरै इरानी आक्रमणहरू अमेरिकाको सूचना सञ्चालनसँग प्रत्यक्ष सम्बन्धित सुविधाहरूमा केन्द्रित भएको बताएका छन्—यस्ता लक्ष्यहरू जसका समन्वयाङ्कहरू सार्वजनिक नक्सामा पाइँदैनन्। यस्तो जानकारीको स्रोत पहिचान गर्न कठिन छैन।
चीनको मौन भूमिका
याे युद्धमा बेइजिङको भूमिका अपेक्षाकृत शान्त छ, तर त्यसको प्रभाव कम छैन। चीनले वर्षौदेखि इरानको इलेक्ट्रोनिक युद्ध संरचनालाई पुनःआकार दिँदै आएको छ । उसले उन्नत राडार प्रणाली निर्यात गर्दै इरानलाई सहयाेग गिररहेकाे छ। उसले इरानी सैन्य नेभिगेसनलाई अमेरिकी जिपिएसबाट चीनको बेइडोउ—३ उपग्रह प्रणालीमा लगेर आफ्नो उपग्रहहरूको सञ्जालमार्फत इरानी सेनालाई गुप्चर संकेत भू–नक्साङ्कन दिएर सहयोग प्रदान गरिरहेको छ।
सेवानिवृत्त इजरायली वायुसेना ब्रिगेडियर जनरल आमोस याद्लिनले एक पटक स्पष्ट रूपमा भनेका थिए—युद्धमा प्रत्येक सेकेन्डको महत्व हुन्छ। यदि इरानले लक्ष्य पहिचान र आक्रमण प्रक्रियामा केही मिनेट पनि बचत गर्न सके, आकाशीय शक्ति सन्तुलन बदलिन सक्छ। चीनकाे सहयाेगले इरानलाई केवल समय घटाउन मात्र सहयाेग गरेकाे होइन छैन, उसले सम्पूर्ण “किल चेन” नै पुनःसंरचना गरेको छ।
चीनले आपूर्ति गरेको वाईएलसी –८बी नामक 'एन्टीस्टेल्थ' रडारले कम आवृत्तिका तरङ्गहरू प्रयोग गरेर अमेरिकी स्टेल्थ विमानहरूमा प्रयोग गरिने रडार तरङ् जामरको प्रभावकारिता घटाउँछ। अमेरिकाको वि-२१ राडार र एफ ३५–लाईटेनिङ २ जस्ता विमानहरू इरानी राडार प्रणालीले पत्ता लगाउन नसक्ने गरी बनाईएका छन् । तर चीनले उपलब्ध गराएका रडारको सामु तिनीहरूको भिजिविलिटी निकै घट्छ।
रोयटर्सले इरानले चीनको ५० वटा सिएम–३०२ सुपरसोनिक जहाजविरोधी क्षेप्यास्त्र खरिद गर्न लागेको जनाएकाे छ । यो चीनको वाईजे - ६ क्षेप्यास्त्रको निर्यात संस्करण हो, जुन म्याक ३ को गतिमा उड्न सक्छ र समुद्र सतह नजिक उड्दै जहाजलाई केहि सेकेन्डमै निसाना बनाउन सक्छ।
सैन्य विश्लेषकहरू यस्ता हतियारलाई “क्यारियर किलर” भनेर सम्बोधन गर्छन्। यदि चीनले यो क्षेप्यात्र इरानलाई विक्रि गरेमा अमेरिकाको सबैभन्दा शक्तिशालि यूएसएस अब्राहमलिङ्कन (सिभिएन २२) र एसएस जेसाल्ड आर फोर्ड (सिभिएन ७८)जस्ता युद्धपोत सिधै यसको निशानामा पर्न सक्छ । जसलाई आधार बनाएर अमेरिकाले इरानलाई आक्रमण गरिरहेको छ ।

अमेरिका–इजरायलका प्रतिउत्तर
अमेरिका र इजरायल निष्क्रिय छैनन् । उनीहरू सक्रिय रूपमा खोजी अभियानमा छन्। अमेरिकी तथा इजरायली गुप्तचर टोलीहरूले इरानी नेतृत्वको गतिविधि निगरानी गरिरहेका छन्, इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्स (आईआरजिसि) का कमाण्ड केन्द्रहरूको नक्साङ्कन गरिरहेका छन्, र युद्धको प्रारम्भिक चरणमा इरानी रडार पूर्वाधारलाई तीव्र र सटीक आक्रमणमार्फत ध्वस्त पारेका छन्।
पूर्व इजरायली वायुसेना कमान्डर ऐटन बेन अलिल्याहु का अनुसार, रडार ध्वस्त पार्नु केवल एउटा उपकरण नष्ट गर्नु होइन, त्यो शत्रुलाई अन्धो बनाउनु हो। युद्धका प्रारम्भिक घण्टामै इरानका धेरै रडार प्रणालीहरू नष्ट गरिएका थिए। तर आईआरजिसिका प्रवक्ता अलि मोहम्मद नाइनीले इरानले पनि मध्यपूर्वभर अमेरिकाको करिब १० उन्नत रडार प्रणाली नष्ट गरेको दाबी गरेका छन्।
इरानको यो दाबीलाई आंशिक सत्य मात्र मान्ने हो भने पनि कुरा स्पष्ट हुन्छ कि यो ऊ एक्लैको सामर्थमा भएको हैन । खाडीका राजधानीहरू र अन्य स्थानहरूमा इरानी क्षेप्यास्त्रहरू कसरी पुगे भन्ने कुराले यसको थप पुष्टि गर्छ कि चीन र रूसको सहयोग विना यो सम्भव छैन ।
अप्ठ्यारोमा अमेरिका
यता प्रारम्भिक लक्ष हासिल गर्न नसकिरहेको अमेरिकालाई युद्ध क्षेत्रका साझेदारहरूले सक्रिय सहयोग नगरेपछि थप संकट आईलागेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युद्ध शुरुवात गर्दा आफ्नो सेनासमेत संलग्न हुने वचन दिएका साउदी अरेबिया अहिले प्रत्यक्ष युद्धमा संलग्न नहुने बताईरहेको छ। यसबारे अमेरिकी राष्टट्रपति डोनाल्ड ट्रम्पका अत्यान्तै निकट एक संसदले ‘साउदी अरेबियालाई धोकेवाज’को संकेत दिँदै समयमा यसको जवाफ दिनेसमेत बताएका छन्।
उता संयुक्त अबर इमिरेटस् (यूएई)ले पनि अब आफ्नो क्षेत्रबाट अब अमेरिकी सेनालाई आक्रमण गर्न नदिने बताएका छन् । खाडी क्षेत्रमा रहेका अमेरिकाका आधार शिविरहरूमा इरानी मिसाईल वर्षा हुन थालेपछि उनीहरूले पोजिशन परिवर्तन गरेका हुन् ।
नयाँ युद्ध मोर्चा हर्मुज जलडमरू
युद्ध लम्बिँदै जाँदा इरानले युद्धको नयाँ मोर्चा खोल्न खोजेको देखिएको छ। आफ्नो सीमा नजिकै रहेको स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरू) भएर आवत जावत गर्ने सम्पूर्ण बाटो बन्द गरेर उसले अमेरिका र इजरायललाई त्यो युद्धका लागि त्यो क्षेत्रमा निम्त्याएको मात्र छैन विश्वभर पेट्रोलिय पदार्थको हाहाकार मच्याएर अमेरिका र इजरायलमाथि दबाब सिर्जना गर्ने रणनीति अङ्गालेका छन्। हर्मुज जल डमरू विश्वका तेल आपूर्ति श्रृङ्खलाको घाँटी मानिन्छ।
विश्वका करिब २५ प्रतिशत पेट्रोलियम पदार्थ यही बाटो भएर आयात निर्यात हुने गर्दछ । यो इरानीको सीमा नजिक रहेको ३९ देखि ९७ किलोमिटरसम्म फैलिएको पानिजाहाज हिंड्ने अत्यान्तै साँगुरो समुन्द्रि नाका हो।
इरानले यो बाटोमार्फत भएर हिंड्ने अमेरिकी तथा अन्य केहि पेट्रोलिय बोकेका पानिजहाजमाथि आक्रमण गरिसकेको छ । अब यो स्थानमा जहाजको गस्ति गर्न अमेरिकी सेना आउँछ कि आउँदैन भन्ने सबैको चासो छ। तर सामरिक रुपले यो स्थान अमेरिकाको लागि निक्कै जोखिमपूर्ण छ।
त्यसैको फाईदा उठाउँदै इरान अमेरिका र इजरायललाई उक्त स्थानमा बोलाउन खोजिरहेको छ। यो बाटो बन्द भएकै कारण विश्वभर पेट्रोलियमको भाऊ आकाशिएको छ। यो क्रम आजै जारी रहने छ। अमेरिकाले विश्वभर रहेका आफू र आफ्ना सहयोगीहरूलाई रिजर्भ तेल विक्रि गरेर भाउ घटाउन प्रयास गरे पनि त्यो पर्याप्त हुनसकेको छैन।
यस्तो अवस्थामा के अमेरिका र इजरायलले नयाँ कुनै जुक्ति निकालेर इरानलाई गलाउला? वा हर्मुज जलडमरु पुगेर इरानी शक्तिलाई ध्वास्त पार्ला? यसको नतिजा भने आउन बाँकी छ ।
Shares

प्रतिक्रिया