इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका-इजरायलसँग लडाइँका बिच इतिहास उल्लेख गर्दै आफूहरू ‘कथामा नयाँ अध्याय लेखिरहेको’ बताएका छन्।
अब्बास अराघचीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत निरन्तर आक्रमणहरूका बिच इद र इरानी नयाँ वर्ष नवरोज मनाइरहेको उल्लेख गरेका छन्।
अनि अगाडि लेखेका छन्, ‘हाम्रो प्राचीन सभ्यताको तीन हजार वर्षको इतिहास छ, जसमा इरानीहरू र यस क्षेत्रलाई बाहिरी व्यक्तिहरूबाट सुरक्षित गरिएको छ। अब हामी त्यो कथामा नयाँ अध्याय लेखिरहेका छौँ।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
यसैबिच अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक शनिबार सार्वजनिक अभिव्यक्ति दिएका छन्।
जसमा उनले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया