अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन प्रस्थान गरेका छन्।
बीबीसीका अनुसार त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन्।
ट्रम्पले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विस्तृत छलफल गरिने बताए।
ट्रम्पले भनेका छन्, ‘हामीसँग छलफल गर्न धेरै कुरा छन्। स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिले नै हाम्रो नियन्त्रणमा छ।’
चेतावनी दोहोर्याउँदै उनले थपे, ‘या त हामी सम्झौतामा पुग्नेछौँ, नत्र उनीहरू (इरान) नष्ट हुनेछन्।’
चीनको विदेश मन्त्रालयले यसअघि नै ट्रम्प आज मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जानकारी गराइसकेको छ।
झन्डै ९ वर्षपछि अमेरिकाका राष्ट्रपति चीन भ्रमणमा निस्केका हुन्।
ट्रम्पको चीन भ्रमण विश्वका दुई ठुला अर्थतन्त्रबिचको सम्बन्धको एक महत्त्वपूर्ण मोडमा भइरहेको छ।
यो भ्रमण अमेरिका र चीनबिचको कमजोर व्यापार सम्झौताका लागि पनि एक महत्त्वपूर्ण परीक्षा हुनेछ।
गत वर्ष अप्रिलमा राष्ट्रपति ट्रम्पले धेरै देशमा भन्सार कर लगाए।
जसले अमेरिका र चीनबिच कर युद्ध सुरु भयो। यस क्रममा दुई देशले एकअर्काविरुद्ध १०० प्रतिशतभन्दा बढी कर लगाए।
अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सीबिच भएको अन्तिम भेटघाटपछि कर स्थगन गरिएको थियो। तर पनि दुवै देशले एकअर्काविरुद्ध चेतावनी दिइरहे।
Shares

प्रतिक्रिया