अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क आएमा गिरफ्तार गर्ने विषयमा विचार गरिरहेको बताएका छन्।
उनका अनुसार नेतन्याहु आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क आउने सम्भावना छ।
द न्युयोर्क टाइम्सको पोडकास्ट ‘द इन्टरभ्यु’मा ममदानीले भनेका छन्, 'हाम्रो कानुनी विभागले नेतन्याहुको सम्भावित गिरफ्तारीको कानुनी पक्षका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको छ।'
ममदानीले आफ्नो चुनावी अभियानका क्रममा नेतन्याहुलाई पक्राउ गर्ने वाचा गरेका थिए।
ममदानीले अन्तर्वार्तामा अगाडि भनेका छन्, ‘मलाई विश्वास छ- प्रधानमन्त्री नेतन्याहुका लागि हेगमा स्थान छ। उनी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्वारा अभियोग लगाइएका युद्ध अपराधी हुन्। विगत धेरै वर्षमा उनले गरेका कार्यका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै धेरै मानिसले यस्तै विचार राख्छन्।’
यस विषयमा कानुनले के अनुमति दिन्छ भनेर सोध्दा ममदानीले जवाफ दिए, ‘हामी यस विषयमा हाम्रो कानुनी विभागसँग सक्रिय रूमा छलफल गरिरहेका छौँ। तर हामीले राष्ट्रिय स्तरमा धेरैपटक देखेका छौँ- केही व्यक्ति आफ्नै इच्छाअनुसार कानुन लेख्ने वा कानुनी दायराभन्दा बाहिर जाने प्रयास गर्छन्। हाम्रो उद्देश्य त्यसो गर्नु होइन।’
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित धेरै जना नेताविरुद्ध २०२४ मा पक्राउ पुर्जी जारी गरेको थियो। उनीविरुद्ध २०२३ अक्टोबर ७ मा हमासको हमलापछि गाजामा युद्ध अपराध गरेको अभियोग लगाइएको छ।
तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले आईसीसीको त्यो पक्राउ पुर्जीको आलोचना गरेका थिए।
यहीबिच न्युयोर्कका मेयर ममदानीले नेतन्याहु आए गिरफ्तार गर्ने सम्भावना रहेको भनेपछि सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। धेरै मानिसले यसलाई ममदानीको घमण्ड भनेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ममदानीले भनेअनुसार नेतन्याहुलाई गिरफ्तार गर्न किन सकिँदैन भनेर बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘मेयर ममदानी! संयुक्त राष्ट्रसंघको महासभाको समयमा न्युयोर्कमा प्रधानमन्त्री नेतन्याहुलाई पक्राउ गर्ने तपाईंको धम्की कार्यान्वयन हुन नसक्ने चार कारण बताउँछु।’
‘पहिलो- संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत जुन कानुनी-व्यवस्थामा आधारित छ, त्यस सन्धिको पक्षधर होइन।’
‘दोस्रो- संयुक्त राष्ट्रसंघको मुख्यालय सम्झौताले संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिने विदेशी सरकार प्रमुखहरूलाई कूटनीतिक सुरक्षा प्रदान गर्दछ।’
‘तेस्रो- यस्ता घटनामा राष्ट्र प्रमुख वा सरकार प्रमुखको कानुनी उन्मुक्ति पनि लागु हुन्छ।’
‘र, चौथो- विदेश नीति र यस्ता कानुनी मामिलामा संघीय सरकारको अधिकार स्थानीय प्रशासनभन्दा माथि हुन्छ, त्यसैले यस्तो कारबाही न्युयोर्कका मेयरको इच्छा वा घोषणाबाट गर्न सकिँदैन।’

यसैगरी संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले पनि ममदानीको भनाइ केवल समाचारका लागि मात्र भएको टिप्पणी गरेका छन्।
उनले एक्समा लेखेका छन्, ‘जोहरान ममदानी न्युयोर्कको शासन गर्न असफल भएका छन्। मेयरका रूपमा आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गर्नु र सहरमा बढ्दो यहुदीविरोधी घटना सम्बोधन गर्नुको सट्टा उनले इजरायलविरुद्ध आक्रमण गरेर विवाद सिर्जना गर्ने र हेडलाइन बनाउने बाटो रोजेका छन्।’
उनले अगाडि लेखेका छन्, ‘यसले केही पनि परिवर्तन हुनेवाला छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क आउनेछन्, गर्वका साथ संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् र विश्वसामु इजरायलको स्थिति र आफ्ना नागरिकको सुरक्षा गर्ने अधिकारको कुरा राख्नेछन्। र, यदि कसैलाई पक्राउ गर्नुपर्छ भने त्यो न्युयोर्कका मेयर जोहरान ममदानी हुन्।’
यस विषयमा इजरायलका लागि अमेरिकाका पूर्वराजदूत डान सापिरोले पनि टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘मेयर ममदानीलाई सन्देश: नेतन्याहु हाल आफ्नो राजनीतिक अस्तित्वका लागि लडिरहेका छन्। इजरायलमा धेरै मानिस उनीसँग रिसाएका छन् र अर्को चुनाव आउँदा उनलाई सत्ताबाट हटाउन चाहन्छन्। यदि न्युयोर्कमा उनलाई पक्राउ गर्ने असफल प्रयास गरियो भने सबैभन्दा सम्भावित परिणाम के हुन्छ भने उनले आफ्नो देशमा राजनीतिक सहानुभूति र समर्थन प्राप्त गर्नेछन्। यस्तो कदम उनका विरोधीहरूको सट्टा नेतुन्याहुका लागि फाइदाजनक साबित हुन सक्छ। अर्को शब्दमा यो आत्मघाती गोल हुन सक्छ।’
मानव अधिकारकर्मी तथा इजरायल-अस्ट्रेलिया यहुदी परिषद्का अध्यक्ष आर्सेन ओस्ट्रोव्स्की लेख्छन्, ‘इजरायलका प्रधानमन्त्री नेतन्याहु न्युयोर्क आएमा पक्राउ गर्ने जोहरान ममदानीको भनाइ गैरजिम्मेवार राजनीतिक बयानबाजी मात्र होइन, यसले अन्तर्राष्ट्रिय कानुन, अमेरिकी कानुन र मेयरको अधिकारका विषयमा उनमा रहेको गम्भीर भ्रम पनि प्रदर्शन गर्छ।’
आलोचकहरूले ममदानीको अभिव्यक्तिले इजरायल-विरोधी उनको अडान पनि देखाएको बताएका छन्।
आलोचकहरूको तर्क छ, ‘न्युयोर्कका मेयरसँग विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुख पक्राउ गर्ने कुनै कानुनी अधिकार छैन, विशेष गरी संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन आएका बेला।’
‘संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय दायित्व लागु हुन्छ र त्यस्ता मामिलाको अधिकार संघीय सरकारमा हुन्छ, न्युयोर्क सहर प्रशासनसँग होइन।’
यसैबिच रेडियो होस्ट सिड रोजेनबर्गसँग नेतन्याहुले हालै गरेको कुराकानी सामाजिक सञ्जालमा छाएको छ। रोजेनबर्ग ममदानीका कट्टर आलोचक हुन्।
रोजेनबर्गसँगको कुराकानीमा नेतन्याहुले ममदानी हमाससँग सहानुभूति राख्ने व्यक्ति भएको आरोप लगाएका छन्।

नेतन्याहुले अगाडि भनेका छन्, ‘उनी इजरायलको निन्दा गरिरहेका छन्, जुन एक मात्र लोकतान्त्रिक देश हो र अमेरिकी मूल्य-मान्यतासँग काँधमा काँध मिलाएर उभिएको छ। उनी कसलाई समर्थन गर्छन्? हमास, जो खुलमखुला संसारका प्रत्येक यहुदीको विनाशका लागि आह्वान गर्छ र भयानक हमला गर्छ, जुन होलोकास्टपछि यहुदीविरुद्धको सबैभन्दा ठुलो नरसंहार थियो।’
नेतन्याहु थप्छन्, ‘ममदानीलाई के कुराको हेक्का छैन भने जो यहुदी र इजरायललाई घृणा गर्छन्, उनीहरू अन्ततः अमेरिकालाई पनि घृणा गर्छन्।’
अझ अगाडि बढेर उनले भनेका छन्, ‘मलाई लाग्छ- उनी (ममदानी) भित्रभित्रै अमेरिकालाई पनि घृणा गर्छन्।’
Shares

प्रतिक्रिया