ग्लोबल


‘मोन्था’ चक्रवातले भारतका यी प्रदेशमा भीषण वर्षा, दार्जिलिङको प्रमुख पर्यटकीय गन्तव्य सन्दकफु बन्द

‘मोन्था’ चक्रवातले भारतका यी प्रदेशमा भीषण वर्षा, दार्जिलिङको प्रमुख पर्यटकीय गन्तव्य सन्दकफु बन्द

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ६:२६, काठमाडौँ

बंगालको खाडीबाट उत्पन्न भएको चक्रवात मोन्थाले भारतमा विनाश मच्चाइरहेको छ। धेरै राज्यले यसको असर भोगिरहेका छन्।

झारखण्ड, बिहार, ओडिसा, सिक्किम र उत्तर प्रदेशलगायत क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ। उत्तर प्रदेशका धेरै जिल्लामा ठूलो वर्षा भएको छ भने आज बिहानदेखि धेरै जिल्लामा हल्का वर्षा भइरहेको छ।

भारतीय मौसम विभागका अनुसार आज (अक्टोबर ३१) बिहार र झारखण्डमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान छ। आज पश्चिम बंगाल र सिक्किमका केही स्थानमा अत्यधिक भारी वर्षा हुने सम्भावना छ।

यसैगरी आज उत्तर प्रदेशको पूर्वांचलका केही जिल्लामा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। लखनउस्थित भारतीय मौसम विभागको क्षेत्रीय कार्यालयका वरिष्ठ वैज्ञानिक डा. अतुल कुमार सिंहका अनुसार यस मौसम प्रणालीको प्रभावले बादलको गति बढाउनेछ।

भारतीय मौसम विभागले भारी वर्षाको चेतावनी दिँदै दार्जिलिङसहित बंगालका धेरै जिल्लामा रेड अलर्ट जारी गरेको छ। जसका कारण राज्य सरकारले दार्जिलिङको प्रमुख पर्यटकीय गन्तव्य सन्दकफु बन्द गरेको छ। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।

चक्रवात मोन्थाका कारण भएको वर्षाले पहिरोको जोखिम बढाएको छ। सन्दकफु बंगालको सबैभन्दा अग्लो हिमाली चुचुरोमा अवस्थित छ। यो समुद्री सतहबाट ३,६३६ मिटर उचाइमा छ। यो सिंगलिला राष्ट्रिय निकुञ्जको एक भाग हो र नेपालको सीमासँग जोडिएको छ। जहाँबाट कञ्चनजंघा र सगरमाथा चुचुराहरूको मनमोहक दृश्य देखिन्छ। 

पर्यटकहरूलाई शुक्रबार दिउँसो १ बजेसम्म सन्दकफु छाड्न भनिएको छ। 

सिंगलिला ल्यान्ड रोभर एसोसिएसनका अध्यक्ष चन्दन प्रधानले पर्यटकहरू फर्कन थालेको बताए। बाँकी पर्यटक ब्रेकफास्टपछि फर्कनेछन्।

यसैबीच मोन्था चक्रवातको प्रभावले नेपालमा पनि वर्षा भइरहेको छ। यसको असर आज शुक्रबार साँझसम्म रहने यहाँका मौसमविद्ले बताएका छन्। शनिबार बिहानदेखि भने मोन्थाको प्रभाव कम हुँदै बिस्तारै मौसम सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad