अन्तर्वार्ता


राप्रपाको नेतृत्व लिएर म अगाडि बढेँ, जनता देशकै नेतृत्व दिने मोडमा छन् : राजेन्द्र लिङ्देन (भिडिओ वार्ता)

राप्रपाको नेतृत्व लिएर म अगाडि बढेँ, जनता देशकै नेतृत्व दिने मोडमा छन् : राजेन्द्र लिङ्देन (भिडिओ वार्ता)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर : विशाल कार्की


जेवी पुन मगर
बैशाख २६ , काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई जति चुनावको धपेडीले सताएको छ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको दौडधूप पनि कम छैन।

शुक्रबार एकै दिन ९ वटा सभालाई सम्बोधन गरेका लिङ्देनले शनिबार नेपालगञ्ज र कोहलपुरका सभाहरूलाई सम्बोधन गरे। नेपालगन्जबाट फर्केका अध्यक्ष लिङ्देनसँग शनिबार राति नेपालखबरको स्टुडियोमा हामीले कुराकानी गर्यौँ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब नेपालमा कांग्रेस र एमालेको नेतृत्वमा दुई दलीय धुरी कायम हुने र देश विस्तारै दुईदलीय व्यवस्थातिर जाने बताइरहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले चाहिँ आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा उदाउने दाबी गरे।

लिङ्देनले नेपालखबरसँग भने, ‘अहिले नेपालमा विद्यमान राजनीतिक पार्टीहरूको विकल्पमा तत्काल अरु शक्तिहरु उदाउन सक्ने स्थिति देखिँदैन, जनताले विकल्प पनि खोजिराखेका छन्। जनता राप्रपाको पक्षमा आउँछन्।’

चुनावका बेला देश दौडाहाका क्रममा आफूले ५० हजार मानिससँग भेटेको र चुनावमा पार्टीको राम्रो परिणाम आउने लिङ्देनले बताए।

कांग्रेस, एमाले र माओवादीबाट केही आश गर्नु भनेको साँढेले दूध दिने आशा गर्नुजस्तै हो भन्ने लिङ्देनको आरोपबारे जिज्ञासा राख्दा उनले स्पष्टीकरण दिए, ‘त्यस्तो कुराले मतदातालाई बुझ्न सजिलो हुन्छ। यो तीन दशक हाम्रो समय कसरी खेर गयो भनेर जनतालाई बुझाउने तरिकाका रुपमा मैले त्यसलाई प्रयोग गरेको छु।’

प्रस्तुत छ, राप्रपा अध्यक्ष लिङ्देनसँग नेपालखबरले गरेको कुराकानी :

राप्रपामा आन्तरिक विवाद चलिरहेकै बेला तपाईंहरू स्थानीय चुनावमा जानुपर्ने भयो। तपाईं एकदमै दौडिरहनुभएको छ। देशभरि दौडिँदाखेरि तपाईंले भेटेको चाहिँ के हो? चुनावी अवस्था कस्तो देख्नुभएको छ?
खासगरी हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि जसरी प्रत्यक्षरूपमा जनतासँग जाने, भेटघाट गर्ने क्रमहरू बढाएका छौँ, जनताले हामीलाई साथ दिइराखेको र जनता हामीप्रति आकर्षित भइराखेको देखिन्छ।

यो अरूका लागि अप्रत्याशित हो, मेरा लागि चाहिँ अनपेक्षित थिएन। किनकि, देशमा ठूला राजनीतिक पार्टी हौँ भन्नेहरुबाट देश र जनताप्रति जुन प्रकारका गैरजिम्मेवार क्रियाकलापहरू भइराखेका थिए, जनताले विकल्प खोजिराखेको छ र त्यो विकल्प हामी दिन सक्छौँ। जनताले पत्याउने ढंगले आफ्ना कुराहरु राख्यौँ भने जनता हामीसँग आउँछन् र जनताको साथ र समर्थन हुन्छ भन्ने मेरो प्रारम्भदेखि नै विश्वास थियो।

त्यसैले सुरुमा आफ्नो पार्टीभित्रको नेतृत्वलाई सुध्रिएर जानका लागि सुझाव दिएको थिएँ। नेतृत्व सुध्रिएर जाने लक्षण नदेखेपछि आफैँ नेतृत्व लिएर अगाडि जानुपर्छ भनेर म अगाडि बढेँ। मचाहिँ प्रस्टै थिएँ र अपेक्षाअनुसार नै अहिले जनताको साथ र समर्थन हामीले प्राप्त गरिराखेका छौँ। जनता एकचोटि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको नेतृत्व दिने मोडमा पुगेको मैले पाउँछु।

राप्रपा टेस्टेड पार्टी हो। हिजो पनि सत्तामा उसको भागीदारी थियो। अहिले विकल्पको रुपमा जनताले फेरि राप्रपा रोज्छन् भन्ने आधार के हो?
आधार छ। किनभने, राष्ट्रिय प्रजातन्त्र पार्टीले आधारभूत रुपमा फरक बाटो पक्डिराखेको थियो। कांग्रेस, एमाले माओवादीभन्दा फरक पार्टी, राष्ट्रियरुपमै सञ्जाल र संगठन भएको कुनै पार्टी छ भने त्योचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो। र, अहिले नेपालमा विद्यमान राजनीतिक पार्टीहरूको विकल्पमा तत्काल अरु शक्तिहरु उदाउन सक्ने स्थिति पनि देखिँदैन। जनताले विकल्प पनि खोजिराखेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले विगतको आफ्नो कार्यशैलीमा, आफ्नो रणनीतिमा परिवर्तन गरेर मात्रै अगाडि बढ्ने हो भने मात्रै पनि जनता राप्रपाको पक्षमा आउँछन् भन्ने कुराचाहिँ मेरो अन्तर्मनदेखिकै विश्वास थियो।

राप्रपाको नेतृत्व परिवर्तन भयो र कमल थापाको ठाउँमा राजेन्द्र लिङ्देन आउनुभयो। यो त टेक्निकल परिवर्तन भयो। सैद्धान्तिक रुपले हिजो पनि अहिले पनि संवैधानिक राजतन्त्र नै हो, हैन?
विगतदेखिको निरन्तर रुपमा त्यो त छँदै छ। तर, त्यसलाई प्राप्त गर्नको निम्ति अख्तियार गरिने रणनीतिहरु इमानदारिताका साथ हामीले पालना गर्छौँ भन्ने नेतृत्वको क्रियाकलाप विश्वसनीय हुनुपर्यो। जनताले पत्याउने गरि क्रियाकलाप हुनुपर्यो। हामीले जे भन्छौँ, त्यसमा फरक गर्दैनौँ भन्ने विश्वास दिलाउनसकेका छौँ।

सबैभन्दा ठूलो समस्या भ्रष्टाचार छ। बेरोजगारीको समस्या छ। अविकसितताको समस्या छ। त्यसका बारेमा आफ्ना प्रस्ट दृष्टिकोणहरु हामीले जो लिएर गएका छौँ, यसले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बन्नमा अथवा जनताको यस प्रकारको समर्थन प्राप्त गर्नमा मद्दत गरेको छ।

अहिलेको राप्रपा लिम्बुको छोराले नेतृत्व गरेको अवस्था छ। लिम्बु अथवा जनजाति समुदायले हिन्दू र राजतन्त्रको एजेन्डा बोक्दैनन् भन्ने भाष्य चलिरहेको परिवेशमा तपाईंले यो हाम्रो बाटो हो भनिराख्दाखेरि के फरक परेको छ? 
यसमा धेरै कुराहरु छन्। तपाईंले भनेका कतिपय कुराहरुमा सत्यता पनि छ। सबैभन्दा महत्वपूर्ण कुरा त राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो महाधिवेशनमा नेतृत्व मात्रै परिवर्तन गरेन। अहिले नेपाली राजनीतिमा एउटा म्यासेज पनि दिएको छ।

नेपालको राजनीतिमा पुस्तान्तरणको कुरा, नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठ्दै आयो र खास गरी ठूला राजनीतिक पार्टीहरुले यो कुरा उठाए। तर, यथार्थमा, व्यवहारमा नेतृत्व परिवर्तन गरेर राप्रपाले देखायो। नेतृत्व परिवर्तन मात्रै होइन, पुस्तान्तरण गरेर देखाइदियो। यसले पनि राप्रपालाई विगतमा जसरी बुझियो, त्यो होइन रहेछ भन्ने राप्रपाले देखाइदियो। पञ्चहरुको पार्टी, यसमा हुनेखाने मानिसहरुमात्रै हुन्छन्, एउटा वर्गका र जात समूहमा मानिसहरुको मात्रै यसमा नेतृत्व रहन्छ भन्ने जुन सोच थियो, त्यो त अप्रत्याशित रुपमा राप्रपाले परिवर्तन गरेर देखाइदियो। यो पनि केही व्यक्तिको सल्लाहमा होइन, महाधिवेशन प्रतिनिधिहरुले प्रमाणित गरेर देखाइदिए।

राप्रपाभित्र जो प्रतिनिधि छन्, तिनीहरु पनि सुझबुझका साथ छन्। उनीहरु उदार छन् र परिवर्तनको पक्षमा छन् भन्ने कुरा देखियो। अरु पार्टीका प्रतिनिधिहरुभन्दा राप्रपाका प्रतिनिधिहरु चलाख रहेछन् भन्ने कुरा पनि प्रमाणित भएको छ।

त्यो पनि होला। तर, राजेन्द्र लिङ्देन पहिला सत्तामा कतै भागीदारी नभएको हुनाले ऊ टेस्टेड छैन भनेर पनि हो कि कतै?
हामीले भनिराखेको कुरालाई मानिसहरुले पत्याउने आधारमध्ये ऊ कतै अहिलेसम्म चुकेको छैन भन्ने कुरा पनि हो नि! प्रधानमन्त्री भएर, मन्त्री भएर, त्यस प्रकारको कुनै जिम्मेवारी लिएर काम गरेर देखाउने मौका त मैले प्राप्त गरेको छैन। तर, अहिले म यहाँसम्म जसरी आएको छु, म एकाएक आएको होइन। म वडा अध्यक्ष, जिल्ला विकास समितिको सभापति हुँदै यहाँसम्म आइपुगेको मान्छे हुँ। विभिन्न परीक्षाहरु उत्तीर्ण गर्दै यहाँसम्म आइपुगेको मान्छे हुँ। जे होस्, आम मानिसहरुले मलाई र राप्रपाको मूल नेतृत्वलाई स्वीकार्दाखेरि योचाहिँ नचुकेको मान्छे हो, यसको कुरामा विश्वास गर्न सकिन्छ भन्ने कुराले पनि काम गरेको छ।

तपाईं आरक्षण पनि वर्गीय हिसाबले लागू हुनुपर्छ भनि राख्नुभएको छ। यसलाई तपाईंले रणनीतिक रुपमा डिल गरिराखेकाले पनि राप्रपाको प्रभाव बढेजस्तो लाग्छ?  
यसले पनि काम चाहिँ गर्छ। तर, मैले जे भनेको छु, त्यो कुनै रणनीतिक वा मत प्राप्तिसँगको विषयचाहिँ होइन। यसले कहिलेकाहीँ नबुझेको ठाउँमा नोक्सानी पनि गर्छ।

अहिले पनि मेरा विपक्षीहरुले गाउँमा मत माग्दाखेरि जनजाति समुदायमा, अल्पसंख्यक लोपोन्मुख जाति समुदायमा जसलाई हामीले दलित भन्छौँ, त्यो समुदायमा जाँदाखेरी राजेन्द्र लिङ्देनले अब तिमीहरुले पाइरहेको सेवा सुविधा पाउनुहुँदैन भनिरहेको छ, उसलाई कसरी भोट दिन्छौ भनिरहेका छन्। त्यतिमात्र होइन, महिलाहरुले जुन विशेष सुविधाहरु प्राप्त गरिरहेका छन्, त्यसको विरोधी हो राजेन्द्र लिङ्देन भन्ने पनि छ। मैले यो सैद्धान्तिक रुपमा कुरा गरेको हो।

राज्यको मूल प्रवाहबाट अलग रहेका जाति, सम्प्रदायका मानिसहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि राज्यले विशेष सुविधा दिनुपर्छ। त्यसमा मेरो आपत्ति होइन। तर, अन्धाधुन्ध जातका आधारमा राज्यले दिने सेवा सुविधा अहिले जुन बाँडिरहेको छ, त्यसले जसलाई भनिएको हो, त्यसलाई पनि पूर्णता दिन सकेको छैन।

अर्कोतर्फ, जातको आधारमै अर्को गरिब उपेक्षित भइरहेको छ। २१औँ शताब्दीमा आएर एउटा जातका मान्छे सबै धनी हुन्छन् र गरिब हुन्छन् भन्ने व्याख्या नै गलत छ। त्यसमाथि पनि जातीय आरक्षणको ब्यवस्था कसले ल्यायो भन्दा वर्गसंघर्षको कुरा गर्नेहरु र साम्यवादको कुरा गर्नेहरुले ल्याए। योचाहिँ दुःखद कुरा पनि हो। र, अहिले राज्यले दिने सेवा सुविधा गरिबीको आधारमा दिनुपर्छ।

जातीय विविधताको संरक्षण गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ। कुनै पनि भाषा लोप हुन नदिने, कुनै पनि धर्म लोप हुन नदिने, कुनै पनि नागरिकलाई जात र धर्मको आधारमा विभेद हुन नदिने परिस्थिति निर्माण गर्ने, कानुनहरु निर्माण गर्ने राज्यको जिम्मेवारी हो।

तर, राज्यले दिने सेवासुविधा जातको आधारमा दिन थालेपछि र निश्चित जातलाई दलित हौँ भनेर सुविधा दिने भएपछि जातीय भेदभावको अन्त्य कसरी हुन्छ? यो–यो जात चाहिँ दलित हो है भनेर ऐनमा लेख्ने र त्यसका आधारमा सार्वजनिक रुपमा सुविधा दिने भएपछि कहिले भेदभाव अन्त्य हुन्छ? यो जातीय भेदभावको अन्त्य गर्नका लागि पनि राज्यले दिने सेवा सुविधा गरिबलाई दिन उपयुक्त हुन्छ।

तपाईंमा वाक्पटुता छ। तपाईंको भाषणले सर्वसाधारणलाई आकर्षित गरेको देखिन्छ। ठूला दललाई मतदान गर्नु भनेको साँढेबाट दूधको अपेक्षा गर्नु हो पनि भन्नुभयो ... 
लाग्छ, त्यस्तो कुराले मतदातालाई बुझ्न सजिलो हुन्छ। किनभने, ०४६ सालको राजनीतिक परिवर्तनपछि राजा ज्ञानेन्द्रको १८ महिने प्रत्यक्ष शासनबाहेक लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापाहरु पनि केही महिना प्रधानमन्त्री हुने मौका पाउनुभयो। तर, राजनीतिक रुपले, व्यावहारिक रुपले नेपालको नेतृत्व कांग्रेस, एमाले र माओवादीकै हातमा रह्यो। तर, यो ३ दशक हाम्रो समय कसरी खेर गयो भनेर जनतालाई बुझाउने तरिकाका रुपमा मैले त्यसलाई प्रयोग गरेको छु।

३० वर्षको समयमा जनताले छुन पाउने, महसुस गर्न पाउने, योचाहिँ भयो है भन्ने केही भएन। देश पूर्णरुपले बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भयो। देशभर १ हजार युवाले एकै ठाउँमा काम गर्ने उद्योग स्थापना भएन। त्यतिमात्र होइन, भएका उद्योगहरु बन्द भए। ३ करोड जनसंख्या पुगेको छैन, ७० लाख युवा वैदेशिक रोजगारका लागि दिल्ली, पन्जाव, गुजरातलगायत विभिन्न भूभागमा केवल परिवार पाल्नका लागि नारकीय जीवन बिताउन बाध्य छन्। भनेपछि, देशको अवस्था के छ? राष्ट्रिय ऋण बढेको बढ्यै छ। राजाको पालामा २९ अर्बमा रहेको ऋण ४ वर्षअगाडि ८ खर्ब पुगेको थियो। अहिले संघीयता कार्यान्वयन भएपछि १७ खर्बमा पुग्यो। ४ खर्ब लगभग त तलब र भत्तामा नै खर्च भयो भन्छ।

यो परिदृश्यबाट के देखिन्छ भने, अब यिनी पार्टीलाई एकचोटि होइन, अर्को ४ चोटि दिँदा पनि केही गर्दैनन्। अब त्यसलाई लामो भनेर बुझाउनुभन्दा छोटोमा बुझाउन सजिलो भनेर यिनलाई दिएर देश बनाउनु भनेको यस्तो कुरा हो भनेर भनेको हुँ।

हिसाबकिताब गर्दा यो स्थानीय निर्वाचनमा तपाईंको पार्टीले यति सिट पाउँछौँ है हामी भनेर आकलन गर्नुभएको छ? 
हाम्रा सभाहरूमा मानिसको उपस्थिति निकै उत्साहजनक छ। कम्तीमा ५० हजार मानिससँग मैले प्रत्यक्ष भेटघाट गरेँ। सिटको हिसाबले कस्तो आउँछ र कतिवटा स्थानीय तहमा हामीले चुनाव जित्छौँ भनेर हिसाबकिताब गरेका छैनौँ। तर, हामीले राम्रो परिणाम ल्याउँछौँ।

महाधिवेशनपछि नेतृत्वमा आउनेबित्तिकै तुरुन्तै चुनाव सुरु भयो। हामीले इमान्दारीपूर्वक भन्नुपर्छ, पर्याप्त तयारी गर्न पाएनौँ। अहिले पनि मेरो उपस्थितिका कारणले मात्र पनि चुनाव जित्न सकिन्छ भनेका ठाउँमा मैले समय दिन सकिरहेको अवस्था छैन। त्यसकारण हामीले यति सिट र उति सिटभन्दा पनि राम्रो परिणाम ल्याउँछौँ। यसले आगामी संसदीय निर्वाचनका लागि बलियो आधार तय गर्छ। 

भिडिओ : विशाल कार्की

बैशाख २५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad