कर्णाली


कर्णालीका १० क्षेत्रमा एमालेका पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा

यी क्षेत्रमा भिड्दैछन् एमाले–पूर्वएमाले
कर्णालीका १० क्षेत्रमा एमालेका पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा

दिनेश बुढा
कात्तिक २, २०७९ बुधबार ७:०, सुर्खेत

१० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत र दैलेखमा दुई वटा निर्वाचन क्षेत्र गरि १२ प्रतिनिधि सभा र २४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्। ०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा माओवादीसँगको एकतामा सबै भन्दै बढी सिट नेकपा (एमाले)ले जितेको थियो। 
तर फुटका कारण कर्णालीमा एमालेलाई २०७४ सालको विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिएको छ।

तत्कालिन अवस्थामा नेकपा माओवादीको बलमा कर्णाली प्रदेश सभा र प्रतिनिधि सभामा सबै भन्दा धेरै सिट ल्याएर कर्णाली प्रदेशमा पहिलो दल बनेको एमालेलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा साख बचाउन मुस्किल बन्ने स्थिती छ। एमाले फुटेर बनेको एकीकृत समाजवादी पार्टीले पनि कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा चुनौती बनेको हो। 

एउटै पार्टीमा रहेर आ–आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका एमाले तथा समाजवादीका नेताहरु एउटै चुनावी मैदानमा होम्एिका छन्। पूर्वसहकर्मीहरु नै आगामी मंसिर ४ गते आमनेसामने हुने भएपछि उनिहरुबीच रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। 

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन बनेको छ। प्रदेशका १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका तीन निर्वाचन क्षेत्र (डोल्पा, सल्यान र दैलेख निर्वाचन क्षेत्र–१) र २४ प्रदेश सभा निर्वाचनका दुई सिट (हुम्ला ‘क’ र मुगु ‘क’) समाजवादीको भागमा परेको छ। तर, समाजवादीले अन्य निर्वाचन क्षेत्रमा समेत उम्मेदवार बनेर पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। 

यी क्षेत्रमा हुँदैछ एमाले–पूर्वएमाले सहकर्मीबीच प्रतिस्पर्धा

एमाले–पूर्वएमालेबीच सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) र (ख), दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रतिनिधि सभा, सल्यान प्रतिनिधि सभा, डोल्पा प्रतिनिधि सभा, मुगु प्रदेश सभा (क), हुम्ला प्रदेश सभा (ख), कालिकोट प्रदेश सभा (ख) र जुम्ला प्रदेश सभा (ख)मा उनै पूर्वसहकर्मीहरूबीचको  रोचक चुनावी भिडन्त हुने भएको हो। 

सुर्खेत–२ प्रदेश सभा (क)
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। जसका लागि एमालेबाट यामलाल कँडेलल र एकीकृत समाजवादीबाट शिवप्रसाद उपाध्याय चुनावी मैदानमा उत्रिएका छन्। एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज समेत रहेका कँडेललाई पूर्वसहकर्मीसमेत रहेका समाजवादीका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्यायले चुनौती दिने भएका छन्। 

०७० मा सम्पन्न संविधासभा सदस्य निर्वाचनमा उनै उपाध्यायले कँडेलविरुद्ध बागी लडेपछि कँडेल पराजित भएका थिए। कँडेल दोस्रो पटक प्रदेशसभामा चुनाव लड्दै छन् भने, उपाध्याय पनि कँडेललाई दोस्रो पटक हराउने मेसो खोजिरहेका छन्। यस्तै, २०७४ को निर्वाचनमा प्रदेश सभामा यो क्षेत्रमा उनै कँडेलले निर्वाचित भएका थिए। कँडेलले २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका कमलराज रेग्मिले १५ हजार ९४७ मत प्राप्त गरेका थिए।

सुर्खेत–२ प्रदेश सभा (ख)
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा पूर्वसहकर्मी चुनावी मैदानमा होमिएका छन्। एमालेले ताराकेशर गौतमलाई उम्मेदवार बनाएको छ भने, समाजवादीले मोहन बडुवाललाई उम्मेदवार बनाएको छ। बडुवाल समाजवादीका सुर्खेत जिल्ला अध्यक्षसमेत हुन्। गौतम र बडुवाल संगठन निर्माणमा लामो समय एमालेको मुख्य भुमिकामा रहेर काम गरेका पुराना नेता हुन्। 

यो निर्वाचन क्षेत्रमा ०७४ सालको निर्वाचनमा एमालेको बलमा माओवादीबाट विन्दमान विष्टले बाजी मारेका थिए। उनले १५ हजार ६४८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका तप्तबहादुर विष्टलाई हराएका थिए। तप्तबहादुरले १२ हजार ४७७ मत प्राप्त गरेका थिए।

प्रतिनिधि सभा सल्यान
एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा एमालेका पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। एकीकृत समाजवादीबाट पार्टीका उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका प्रकाश ज्वाला चुनाव लड्ने भएका छन्। उनी गठबन्धनबाट साझा उम्मेदवार हुन्।

नेकपा एमालले ज्वालासँग टक्कर दिनका लागि राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ। ज्वालाई रायले चुनौती दिनेछन्। ज्वाला कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनिसकेका छन्। राय भने राप्रपाबाट एमाले प्रवेश गरेका थिए।

०७४ को निर्वाचनमा सल्यानबाट प्रतिनिधि सभामा नेकपा माओवादीका टेकबहादुर बस्नेत विजयी भएका थिए। उनले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए। यस्तै, स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरीले २ हजार २९२ मत ल्याएका थिए।  

प्रतिनिधि सभा डोल्पा
प्रतिनिधि सभाका लागि डोल्पामा पनि पूर्व एमालेहरुबीच चुनावी लडाइँ हुने भएको छ। नेकपा एमालेबाट निवर्तमान ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही र समाजवादीका धनबहादुर बुढाले प्रतिस्पर्धा गर्नेछन्। बुढा यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनि संघीय सरकारको  मन्त्री समेत बनिसकेका छन्। 

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट समाजवादीका यीनै धनबहादुर बुढाले ११ हजार ७६१ मत ल्याएर निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका अंगदकुमार बुढालाई हराएका थिए। अंगदकुमारले ३ हजार १६७ मात्रै मत पाएका थिए।

मुगु प्रदेश सभा (क)
यस्तै, मुगु प्रदेश सभा (क) पनि एमालेका पूर्वसहकर्मीहरु आमनेसामने भएका छन्। जसमा गठबन्धनकोतर्फबाट एकीकृत समाजवादीका गोपालबहादुर बम उम्मेदवार बनेका छन्। 

एमाले फुटपछि समाजवादी रोजेका बम निर्वतमान प्रतिनिधि सभा सदस्य समेत हुन्। बमसँग चुनावी प्रतिस्पर्धाका लागि एमालेले जितबहादुर मल्ललाई मैदानमा उत्राएको छ। मल्ल एमालेका प्रभावशाली र अनुभवी नेतासमेत हुन्। 

यस क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका दानसिंह परियारले बाजी मारेका थिए। परियारले ५ हजार ६५३ मत ल्याएर निर्वाचित हुँदा काुंग्रेसका तिलकबहादुर मल्लले ५ हजार २९९ मत पाएका थिए।

हुम्ला प्रदेश सभा (क)
यता, हुम्ला प्रदेशसभा (क) मा पूर्वसहकर्मी एमालेका दल फडेरा र समाजवादीका हस्तबहादुर शाही उम्मेदवार बनेका छन्। हुम्लामा माओवादी र कांग्रेसबीच मात्रै गठबन्धन बनेपछि हस्तबहादुर समाजवादीबाट प्रदेश सभाको उम्मेदवार बनेका हुन्। शाहीलाई आफ्नै पार्टीले निर्वाचनमा उम्मेदवार बन्नका लागि टिकट दिएको हो। 

०७४ सालको प्रदेश सभा निर्वाचनमा माओवादी एमालेबीच एकता हुँदा उक्त निर्वाचन क्षेत्रमा एमालेका दल रावलले ७ हजार १५८ मत ल्याएर निर्वाचित भएका थिए। प्रतिस्पिर्धी कांग्रेसका ठानबहादुर रोकायले ४ हजार ८११ मत ल्याएका थिए।

जुम्ला प्रदेश सभा (ख)
जुम्ला जिल्लाको प्रदेश सभा (ख)मा एमालेका टेकराज पछाई र समाजवादीका पदमबहादुर रोकायबीच प्रतिस्पर्धा हुने भएको छ। रोकाय कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका छन्। उक्त क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेबाट उनै रोकायले बाजी मारेका थिए। रोकायले १० हजार ४५८ मत ल्याएर निर्वाचित हुंदा कांग्रेसका भिमनिधि हमालले ५ हजार २८० मत प्राप्त गरेका थिए। 

कालिकोट प्रदेश सभा (ख)
यस्तै, कालिकोटमा पनि पूर्वसहकर्मीबीच नै लडाइँ हुनेछ। प्रदेशसभा (ख) मा एमालेका वीरेन्द्रबहादुर बोगटी र समाजवादीका विश्वराज बमबीच प्रतिस्पर्धा हुनेछ। कालीकोटमा माओवादी र कांग्रेसबीच गठबन्धन हुँदा समाजवादीलाई आउट गरेको छ। 

सोही निर्वाचन क्षेत्रमा एमाले माओवादीबीच एकता हुँदा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याएर निर्वाचित भएका थिए। उनले कांग्रेसका कालिबहादुर सहकारीलाई हराएका थिए। सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए। 

दैलेख–१ प्रतिनिधि सभा 
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ म प्रतिनिधिसभाका लागि पूर्वसहकर्मी ३० वर्षपछि चुनावी मैदानमा उत्रिएका छन्। गठबन्धनका तर्फबाट समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। उनीहरू एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीति गरेका नेताहरू हुन्। 

०७४ को निर्वाचनमा शर्मा प्रतिनिधिसभा र थापा प्रदेशसभा सदस्यमा विजयी भएका थिए। शर्माले २३ हजार ७७३ मत प्राप्त गरेर विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए। कांग्रेसले राप्रपालाई साथ दिएको थियो। 

दैलेख–२ प्रदेश सभा (ख)
यसैगरी, दैलैख निर्वाचन क्षेत्र नम्बर–२ (ख) मा पनि पूर्व एमालेहरु नै मुख्य प्रतिस्पर्धी बनेका छन्। एमालेबाट विनोदकुमार शाह र गठबन्धनका तर्फबाट माओवादीका योगेन्द्र शाही प्रतिस्पर्धी बनेका छन्। एमालेका पुराना नेता शाह एमाले प्रदेश अध्यक्ष हुन्। 

एमालेको केन्द्रीय अर्थ विभागका सचिवसमेत रहेका शाही भने एमालेले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेर टिकट हात पारेका हुन्। 

यस क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका राजबहादुर शाहीले ११ हजार ४४५ मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका दिक्पालकुमार शाहीले ८ हजार ४६९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .