कर्णाली


कर्णालीले १५ लाखभन्दा कमका योजना लागू नगर्ने

कर्णालीले १५ लाखभन्दा कमका योजना लागू नगर्ने

कर्णाली प्रदेश सभा/फाइल फोटो


नेपालखबर
असार १७, २०८० आइतबार १४:३३, सुर्खेत

कर्णाली प्रदेशमा १५ लाख भन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नहुने भएका छन्। आइतबार बसेको कर्णाली प्रदेश सभाको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णाली प्रदेशसभा मार्फत प्रदेश सरकारलाई आर्थिक वर्ष २०८०÷०८१ को बजेटका सम्बन्धमा ध्यानाकर्षण गराएको थियो।

यद्यपी ती विषयहरू मध्ये केही विषयहरू प्रदेश सरकारका तर्फबाट प्रदेश सभाको बैठकमा कार्यान्वयन गर्ने प्रतिवद्धतासहित सर्वदलीय निर्णय गरिएको छ।

१५ लाख भन्दा कम योजनाहरू कार्यान्वयन नगर्ने तर ताल, तलैया, बीउ विजन तथा क्रमागत योजनाहरूमा विनियोजित रकमबाट योजनाले पूर्णता पाउने भए उक्त योजना कार्यान्वयन हुने व्यवस्था मिलाउने, १५ लाख भन्दा माथिका योजनाहरूमा रकम विनियोजन गर्दा प्रदेश सभा सदस्यहरू र स्थानीय तहले माग गरेका योजनाहरूमा रकम विनियोजन गर्न प्राथमिकता प्रदान गर्ने निर्णय गरिएको छ।

यस्तै, १५ लाख भन्दा कम रकमका योजनाहरूमा विनियोजन भएको रकमका हकमा प्रमुख प्रतिपक्ष दलसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने, सशर्तको नाममा संघीय सरकारबाट स–साना योजनाहरूमा रकम विनियोजन भएकोमा निश्चित मापदण्डको आधारमा मात्र सशर्त योजनाहरूमा रकम विनियोजन गर्न संघीय सरकारलाई प्रदेश सरकारमार्फत् अनुरोध गर्ने, कार्य सम्पन्न भएका र दोहोरो रकम विनियोजन भएका योजनामा विनियोजित रकम, अध्ययन पश्चात मात्रै कार्यान्वयन गरिने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

साथै, सडक र भवन निर्माणका योजनाहरूको हकमा ३० लाख भन्दा कम रकम विनियोजित भएको भए उक्त आयोजना कार्यान्वयन नगर्ने, यी सहमति अनुसार नै जिल्लाहरूमा अख्तियारी पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ।

यसअघि नेकपा एमालले यीनै विषयको तत्काल कार्यान्वयनको माग राख्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको थियो।

यस्तै, सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही, कानूनमन्त्री कृष्णबहादुर जिसी, उपसभामुख यशोदा न्यौपाने, विभिन्न दलका प्रमुख सचेतक लगायतको उपस्थिति रहेकको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .