कर्णाली


जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार २१:२३, काठमाडौँ

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नुपरेको छ।

नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरे पनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ। 

पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक म्यासेन्जरका आधारमा टिकट वितरण गरेको यात्रुको गुनासो छ। 

पहिलो फ्लाइटको टिकट सबैलाई मिलाएर वितरण गरेपनि दोस्रो फ्लाइटको टिकट कर्मचारीले मनपरी वितरण गरेको आरोप छ। एक हप्तादेखि टिकटका लागि सिमकोट विमानस्थलमा पुगेपनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियारले बताए। 

निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उनको गुनासो छ। कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमति पत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको परियारले बताए।
 

यस्तै खार्पुनाथ गाउँपालिका–३ का हस्ता रावलले सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको दुखेसो गरे। निजी एयरलाइन्सका कर्मचारीले टिकटका लागि धाउँदा सामान्य सर्वसाधारणको कुरा नै नसुन्ने गरेको उनले बताए। 

सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ।

समिट एयरलाइन्सले दैनिक नियमित एक उडान भरे पनि अन्य सीता र तारा एयरलाइन्सले पछिल्ला केही दिनयता फाट्टफट्ट उडान भरेपनि मनपरी टिकट वितरण गर्ने गरेको यात्रुको गुनासो छ। 

नेपाल एयरलाइन्सले गत शुक्रबार, शनिबार र आइतबार उडान भरेको थियो।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोटा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ।

जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगेपनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो रावलको छ। 

दसैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ। बिहान ६ बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागेपनि टिकट पाउन मुस्किल भएको उनले बताए।

सुर्खेतभन्दा नेपालगञ्ज जान हुम्लाबाट उडान अझ महँगो रहेको छ। त्यस्तै नेपालगञ्ज जाँदा रु नौ हजार एक सय १५ तिर्नुपर्छ। दसैँ मनाउन हुम्ला पुगेका विद्यार्थी, रोजगारीको सिलसिलामा जिल्ला बाहिर बस्दै आएका नागरिक, बिरामीलगायतलाई जिल्ला बाहिर फर्कन समस्या छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .