कर्णाली


दैलेखको ठाँटीकाँध बिसकुना वनमा १५० बढी रुख काटिए

दैलेखको ठाँटीकाँध बिसकुना वनमा १५० बढी रुख काटिए

नेपालखबर
पुस ५, २०८० बिहिबार १४:४८, सुर्खेत

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ र ६ को सिमाना बिसकुनामा रहेको लामा मेला वनका रुखहरू काटिएका छन्। मंगलबार साँझको समयमा उक्त वनक्षेत्रमा रहेका साल तथा सल्लोका रुखहरू काटिएका हुन्।

सो क्षेत्र गाउँपालिकाले खेलमैदान बनाउन डीपीआर तयार गरिरहेको वन क्षेत्र हो।

स्थानीयका अनुसार उक्त वन क्षेत्रमा रहेका एक सय ५० बढी बोटबिरुवा र रुख काटिएका छन्। वन फडानी भएको थाहा पाएपछि प्रहरीसहित स्थानीय त्यहाँ पुग्दा फडानी गर्नेहरू भागेका थिए।

रुखहरू किन काटिए र कसले काट्यो भन्नेबारे स्थानीय तहका प्रतिनिधिले जानकारी दिन आनाकानी गरेका छन्।

रुख कसले किन काटेको भन्ने विषयमा गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले ‘व्यापारीहरूले डोकामा दाउरा काटेर लगेको’ प्रतिक्रिया दिए।

उनले भने, ‘गाउँपालिका जग्गा पास गरेको हो। बजारका व्यापारी तथा स्थानीयहरूले डीपीआर भएको होला भनेर दाउरा काटेछन्। उनीहरूले डोकामा दाउरा ल्याएका हुन्। म बिहानै त्यहाँ पुगेको थिएँ। उनीहरुलाई प्रहरीले भगाएपछि उतिबेलै घर गए। त्यहाँ कुनै डोजर, ट्रयाक्टर, गाडी केही लगाएका छैनन्।’

अध्यक्ष शाहले उक्त ठाउँमा डीपीआर भइसकेपछि मात्रै खेलमैदान बन्ने तर तत्कालै नहुने बताए।

उनले भने, ‘खेल खेलाउने कुरा पछि प्रक्रियामा गएपछि होला। जिल्ला खेलकुदबाट जिल्लास्तरीय खेल ठाँटीकाँधमा खेलाउने कुरा तुरुन्त आएको छ। सायद यहाँ हुँदैन होला। हाम्रो खेलकुदलाई बाहिर कतै आयोजना गर्न अनुरोध गर्न लगाउनुपर्ला।’

ठाँटीकाँध गाउँपालिकाका वन संरक्षण स्रोत व्यक्ति रविन्द्र थापाले वन फडानी भएको क्षेत्रमा खेलकुदमैदान बनाउने भनेर पालिकाले केही समय अगाडि बजेट विनियोजन गरेर डीपीआर बनाउन लागेको बताए।

उनले भने, ‘डीपीआर बने पनि कटान आदेश त्यसको सम्बन्धित निकायबाट नआएको भन्ने थियो।’

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड ठाँटीकाँध गाउँपालिकाले आयोजना गर्नुपर्ने भएकाले फिल्डको आवश्यकता रहेको उनले बताए।

उनले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा भएर हाम्रो पालिका अध्यक्षज्यूको अध्यक्षतामा पुस १ गते सर्वदलीय बैठक बसेर के निर्णय गरेको भन्ने पनि थियो। त्यो दिन म बाहिर भएकाले निर्णय के भयो जानकारी भएन।’

उनले आफ्नो स्वास्थ्य समस्याका कारण सुर्खेतमा रहेकाले सबै जानकारी आफूसँग नभएको बताए।

स्रोत व्यक्ति थापाले रुख काटेको विषयमा प्रहरीलाई भनेपछि प्रहरी विहान जाँदा दाउरा मात्रै भेटिएको तर, कुनै पनि मान्छे नभेटिएको जानकारी प्राप्त भएको बताए। आफूले ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुराकानी गर्दा स्थानीय वा अन्य कसैलाई पनि रुख काट्न अनुमति नदिएको भन्ने खबर पाएको बताए।

यता, डिभिजन वन कार्यालय दैलेखका प्रमुख धर्मराज उपाध्यायले वन फडानी भएको आफूलाई पनि जानकारी भएको बताए।

उनले भने, ‘सव डिभिजन इन्चार्जज्यूको टोली त्यहाँ पुगेर छानबिन तथा अनुसन्धान भइरहेको छ। कति रुख काटिएका छन्, भन्ने बारेमा तथ्याङ्क आएको छैन। उहाँहरु त्यहाँ पुगेर स्थलगत नापचाँज र अवलोकन गरिरहनु भएको छ। प्रतिवेदन तयार भएपछि सबै कुरा थाहा होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .