ad ad

कर्णाली


राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट तीन दलले पठाए उम्मेदवारको नाम, को–को?

एकीकृत समाजवादीले मागेन कर्णालीबाट नाम
राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट तीन दलले पठाए उम्मेदवारको नाम, को–को?

फाइल तस्बिर


दिनेश बुढा
पुस २१, २०८० शनिबार १७:५१, सुर्खेत

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णालीबाट तीन दलले उम्मेदवारको नाम सिफारिस गरेका छन्। प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी केन्द्रलाई उम्मेदवारका नाम पठाएका हुन्। 

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, कालीकोटका नरपति लुवार सुर्खेतकी नन्दाकुमारी चपाईंको पदावधि सकिन लागेको छ।

तीन जनाको पदावधि फागुनमा सकिनेछ भने रिक्त हुने पदका लागि माघ ११ मा निर्वाचन हुन लागेको हो। 

त्यसै अनुसार कर्णाली प्रदेशबाट नेपाली कांगेसले ९२ जनाको नाम पार्टी केन्द्रलाई पठाएको छ। जसमा युवा नेता भूपेन्द्रजंग शाही, पुर्वमन्त्री हिमबहादुर शाही, दिनबन्धु श्रेष्ठलगायत नेताहरू रहेका छन्। 

यस्तै, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि २६ जनाको नाम केन्द्रमा पठाएको छ। कर्णालीमा बहुमतका हिसाबले दोस्रो दलका रुपमा रहेको माओवादी केन्द्रले जिल्ला तथा पार्टीको जनवर्गीय संगठनबाट आएका उम्मेदवारका नामहरूलाई प्रदेशमा कुनै निर्णय नगरेर सिधैं पार्टी केन्द्रलाई पठाएको जनाएको छ। 

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले जिल्लाहरूबाट आएका नामहरूलाई नै केन्द्रमा पठाएको नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार माओवादी केन्द्रबाट महिलामा १३ जना, खुल्लातर्फ ७ र दलिततर्फ ६ जना नेताको नाम राष्ट्रिय सभाका लागि सिफारिस भएको छ। 

यस्तै, नेकपा एमालेले कर्णाली प्रदेशले ९ जनाको नाम केन्द्रमा पठाएको छ। केही दिन अघिमात्रै एमाले कर्णाली प्रदेशले महिला, खुल्ला र दलित गरि तीन सिटका लागि ९ जनाको नाम सिफारिस गरेको हो। 

नेकपा एमाले कर्णाली प्रदेशका अनुसार महिलामा तीन जना, दलितमा तीन र खुल्लामा तीन गरि ९ जनाको नाम राष्ट्रिय सभाको सदस्यका लागि सिफारिस भएको छ।

महिलामा डोल्पाकी बद्मीकुवारी बोहोरा, हुम्लाकी विमलाकुमारी शाही, कालीकोटकी सुवद्रा सिंहको नाम सिफारिस भएको छ। 

जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहादुर महत र मुगुका दिल्ली भट्ट खुल्लाबाट सिफारिस भएका छन्। दलितबाट दैलेखका हिक्मत वि।क, सुर्खेतका बलबहादुर नेपाली र हुम्लाका पर्वत सुनारको नाम राष्ट्रिय सभाका लागि सिफारिस भएको छ। 

प्रमुख तीन दलले आफ्ना उम्मेदवाहरूको नाम पार्टी केन्द्रलाई पठाइसके पनि एकीकृत समाजवादी पार्टीले हालसम्म कर्णाली प्रदेशबाट कुनै पनि उम्मेदवारको नाम सिफारिस गरेको छैन्। 

नेकपा एकीकृत समाजवादी पार्टीका कर्णालीका अध्यक्ष अम्मरबहादुर थापाले हालसम्म आफ्नो पार्टीले कुनै पनि उम्मेदवारको नाम नपठाएको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘पार्टी केन्द्रले उम्मेदवारको नाम मागे पो पठाउनु? मागेको नै छैन्। त्यसैले प्रदेशले पठाएको छैन्। पार्टी केन्द्रले नै कुनै निर्णय गरेर पठाउला।’

२०७९ को स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन गरेर भाग लिएका थिए। माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पनि यी तीन दलहरू गठनबन्धन गरेर नै निर्वाचनमा जाने निश्चित भएको देखिन्छ। 

यी तीन दलले गठबन्धन अनुसार निर्वाचनमा भाग लिने हो भने कर्णालीबाट रिक्त हुने राष्ट्रिय सभाका तीन वटा सिटमा एक÷एक सिट हात लाग्नेछ। 

२०७९ को स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अनुसार कर्णाली दलका हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो र एकीकृत समाजवादी चौथो अवस्था रहेका छन्। 

यदी गठनबन्धन भएको खण्डमा समाजवादीको स्थानीय तह तथा प्रदेशसभाको मतभारका आधारमा सबै भन्दा कम मत रहेको छ। जसका कारण दुई सिट कांग्रेस र एक सिट माओवादी वा दुई सिट माओवादी र एक सिट कांग्रेसको भागमा पनि पर्न सक्छ।

यस्तो छ अंकगणित
२०७९ को स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अनुसार नेपाली कांग्रेसको मत सबै भन्दा धेरै रहेको छ। यो दलसँग स्थानीय तहको प्रमुख÷अध्यक्ष गरि ६०८ र उप–प्रमुख/उपाध्यक्षबाट ५३२ र प्रदेशसभामा ७४२ गरि जम्मा एक हजार ८७३ मतभार रहेको छ।

यस्तै, नेकपा माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख/अध्यक्ष गरी ४३७ र उप–प्रमुख÷उपाध्यक्षको ४७५ र प्रदेश सभा सदस्यहरूबाट ६८९ गरि जम्मा एक हजार ६०१ मतभार छ। 

नेकपा एमालेसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी २८५ र उप–प्रमुख/उपाध्यक्षबाट ३८० र ५३० प्रदेश सभा सदस्यहरूबाट गरी जम्मा एक हजार १९५ मतभार रहेको छ। 

यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी ७६ र उप–प्रमुख/उपाध्यक्ष गरि ११४ र प्रदेश सभा सदस्यमा ५३ गरी जम्मा २४३ मतभार रहेको छ। 

स्वतन्त्रबाट स्थानीय तहका प्रमुखमा पाँच जना निर्वाचित भएका छन्। उनीहरूको मतभार ९५ रहेको छ। यी स्वतन्त्र जितेका उम्मेदहरु मध्ये केही आफ्नो पार्टीमा फर्किएका छन्। 

यस्तै, कर्णाली प्रदेश सभामा स्वतन्त्र तथा राप्रपाबाट एक÷एक गरी १०६ मतभार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .