ad ad

कर्णाली


यस्ता छन् कर्णालीबाट राष्ट्रिय सभामा विजयी तीन नेता

यस्ता छन् कर्णालीबाट राष्ट्रिय सभामा विजयी तीन नेता

दिनेश बुढा
माघ ११, २०८० बिहिबार १७:५५, सुर्खेत

बिहीबार (माघ–११) गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल र माओवादीबाट कालीकोटका विष्णु विक विजयी भएका हुन्।

कर्णालीमा खाली हुने तीन सिटमा महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए।

यसअघि कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच राष्ट्रिय सभाका ३ सिटमा १–१ सिट लिने गरी भागबन्डा भएको थियो।

यस्तै, नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्ट पराजित भएका छन्।

हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका हिक्मत विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट राष्ट्रिय सभा सदस्य बनेका हुन्।

महिलातर्फ गठबन्धनबाट विजयी सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ ११५ मत र एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरेकी छन्।

यस्तै, दलिततर्फ विजयी गठबन्धनका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १२० मत प्राप्त गरेका छन्। एमालेका हिक्मत विक प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरेका छन्।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १२० मत प्राप्त गरेर जित हासिल गरे। एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गरेका छन्।

दुई निर्वाचन हारेका रोकायाले जिते तेस्रो चुनाव  
कर्णाली प्रदेशबाट रिक्त हुने खुल्ला क्लस्टरमा सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएका कांग्रेसका कृष्णबहादुर रोकायाले दुई पटक निर्वाचनमा हार ब्यहोरेका थिए।

रोकाया निर्वाचनमा होम्मिएको तेस्रो पटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

रूकुमपश्चिम घर भएका रोकाया नेपाली कांग्रेस कर्णालीका महामन्त्री हुन्।

रोकाया २०७० सालको संविधान सभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा पनि रुकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडेका उनि यी दुवै निर्वाचनमा उनी पराजित भएका थिए।

उनलाई गठबन्धनको तर्फबाट पार्टीले यो पटक राष्ट्रिय सभा सदस्य पद उपहार दिलाएको छ।

रोकायाले बहुदल स्थापनापछि राजनीति सुरु गरेका थिए। उनी नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष हुन्। नेपाल विद्यार्थी संघ रुकुमको अध्यक्षमा उनी दुई कार्यकाल निरन्तर रहे। २०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य थिए।

२०५७ सालको दशौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बने। २०६७ सम्म उनी जिल्ला सचिव भएर काम गरेका थिए। १४ औं महाधिवेशनसम्म पनि रोकाया निरन्तर महासमिति सदस्य थिए।

२०६२/६३ को दोस्रो जनआन्दोलनको बेला सक्रिय रुपमा लागेका उनी एक हप्ता प्रहरी हिरासतमा बसेका थिए। उनी कांग्रेस  सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।


शिक्षक हुँदै राजनीति थालेका विक बने ‘माननीय’
यस्तै, राष्ट्रिय सभा सदस्यमा निर्वाचित विष्णु विक कालिकोटका हुन्। विक राजनीतिमा आउनुपूर्व शिक्षक पेसामा आवद्ध थिए।

२०४६ मा शिक्षकबाट राजीनामा दिएर उनी राजनीतिमा लागेका हुन्। सुरुमा नेपाल मजदुर किसान पार्टीबाट जनीतिक यात्रा सुरु गरे। २०४९ सालमा भएको स्थानीय निकायको चुनावमा मालकोट गाविसको अध्यक्ष निर्वाचित भए।

माओवादीले विद्रोह सुरु गर्नु एक वर्षअघि उनी माओवादीमा प्रवेश गरे। विक २०५१ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। २०५४ सालमा उनी भूमिगत भए।

माओवादीमा रहँदा उनले दलिथत मुक्ति मोर्चाको नेतृत्व गरेका थिए। नेपाल दलित मुक्ति मोर्चाको संस्थापक जिल्ला अध्यक्ष बनेका उनी  मोर्चाकै भेरी कर्णाली अध्यक्ष, केन्द्रीय समिति सदस्य र २०६१ सालमा केन्द्रीय सचिव बने।

विक अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कालीकोट इञ्चार्ज छन्।

उप–मेयर हारेपछि पार्टी त्यागेर एमालेमा प्रवेश गर्न योजनामा थिइन् सावित्री
यस्तै, दैलेखकी सावित्री मल्लले गठबन्धनकोतर्फबाट राष्ट्रिय सभाको निर्वाचनबाट महिला पदमा विजयी भएकी छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा गठबन्धनले एकीकृत समाजवादी पार्टीकी मल्ललाई नारायण नगरपालिका दैलेखको उप–प्रमुखको उम्मेदवार बनाएको थियो। तर, उनी एमालेको उम्मेदवारबाट पराजीति भएकी थिइन्।

आफू उप–मेयरमा पराजित भएसँगै नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेर एमाले पार्टीमा प्रवेश गर्ने तयारी गरेको उनी निकट स्रोत बताउँछ। तर, माथिल्लो सदनमा लिनका लागि जसरी पनि टिकट दिलाउने अफर आएपछि पार्टीमै बसेको नेताहरू बताउँछन्।

मल्ल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेतर्फ त्यही नगरपालिकाको नगर उप–प्रमुखमा निर्वाचित भएकी थिइन्।

सावित्री मल्ललाई स्थानीय सरकार सञ्चालनको अनुभव छ। २०४३ सालमा नेपाल मजदुर किसान पार्टीमा आएर मल्लले राजनीतिक यात्रा सुरु गरेकी हुन्। उनी ०५४ सालमा जिल्ला विकास समितिको सदस्य बनिन्।

२०६२/६३ को जनआन्दोलनका क्रममा दैलेखमा सुरुमा गिरफ्तार भएकी थिइन्। एमालेमा फुटको अवस्था आएपछि उनी माधव नेपालको पक्षमा उभिइन्। अहिले उनी नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .