ad ad

कर्णाली


होटलमा बनेको थियो हत्या योजना, गोली हान्न भारतीय सार्पसुटर प्रयोग

होटलमा बनेको थियो हत्या योजना, गोली हान्न भारतीय सार्पसुटर प्रयोग

दिनेश बुढा
फागुन १३, २०८० आइतबार २०:१९, सुर्खेत

शनिबार राति सुर्खेतमा भएको गोली प्रहारको विषयमा प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानको विवरण सार्वजनिक गरेको छ। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सुर्खेत प्रहरीले घटनाको बारेमा जानकारी गराएको हो।

वीरेन्द्रनगरमा गएराति साढे ८ बजेको समयमा विनोद गिरीमाथि गोली प्रहार भएको थियो। प्रहरीले घटनामा संलग्न भएका चार जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने १८ वर्षीय ईन्द्र विक, १८ वर्षीय भरत भुल, भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुत र वीरेन्द्रनगर नगरपालिकाका राजन गिरी रहेको प्रहरीले जनाएको छ।

यसरी भयो हत्या गर्नेे योजना
कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने १८ वर्षीय ईन्द्र विकको घटनामा शंकित व्यक्तिसँग विगत डेढ महिनादेखि ह्वाट्सएपमा चिनजान भएर कुराकानी हुने गरेको थियो।

त्यसपछि यो घटनाको मितिले २०-२५ दिन अगाडि ईन्द्र विक र शंकित व्यक्तिको कैलालीको अत्तरियामा भेटघाट भएर सामान्य कुराकानी भयो।

त्यसपछि १०-१२ दिन अगाडि शंकित व्यक्तिले कैलालीको लम्कीमा रहेको टिएमटी होटलमा ईन्द्र विकसँग अर्को भेटघाट गरेको थियो।

ती व्यक्तिले ईन्द्र, ईन्द्रकै गाउँका १८ वर्षीय भरत भुल र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुतलाई सोही होटेलमा बोलाएका थिए।

होटेलमा बसेर उनीहरू चार जना (सशंकित व्यक्ति, ईन्द्र, भरत र रोहित)ले घटनाको सम्बन्धमा पूर्वयोजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्यसपछि ती सशंकित व्यक्तिले ईन्द्र वि.क र भरत भुललाई नेपालगञ्ज बोलाएका थिए। उनीहरुसँग ती सशंकित व्यक्तिले हामीसँग सुटर छ। सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ। तिमीहरूलाई डेढ लाख दिन्छु भनेका प्रहरीले जनाएको छ।

त्यसपछि नेपालगञ्जमा सशंकित व्यक्तिले ईन्द्र विकलाई १ नाल कटुवा पेस्तोल र २ राउण्ड गोली उपलब्ध गराए।

भारतका रोहित राजपुत, ईन्द्र वि.क, भरत भुल र सशंकित व्यत्तिले नेपालगञ्जमा पुनः भेटघाट गरि थप योजना बनाए। त्यसपछि ईन्द्र वि.कले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सुर्खेतका गिरीलाई मार्नका लागि ती सशंकित व्यक्तिले रोहित राजपुतलाई २ लाख रुपैयाँ दिने सहमति समेत गरेको प्रहरीले जनाएको छ।

उनीहरू फागुन ७ गते विनोदको हत्या गर्ने उदेश्यले सुर्खेत पुगेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको गणेश होटलमा बास बसे।

प्रहरीका अनुसार भारतीय नागरिक राजपुत सुर्खेत पुगेपछि वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३७ वर्षीय राजन गिरीले होटलमा बस्ने व्यवस्था मिलाएका थिए।

यस्तै, फागुन ९ गते ईन्द्र विक र भरत भुललाई नेपालगञ्जमा सशंकित व्यक्ति र एक जना अर्को (नाम थाहा नभएको) व्यक्तिले भे.५५.६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजना मुताविक नेपालगञ्जदेखि सुर्खेत पठाए। उनीहरू पनि आएर सोही गणेश होटलमा बास बसेको प्रहरीको भनाइ छ।

यस्तै, ती शंकित व्यक्तिले उनीहरू तीन जना (भारतीय नागरिक राजपुत, ईन्द्र विक र भरत भुल)लाई विनोद गिरीको घर ठेगाना लगायत सबै चिनाएका थिए।

योजना अनुसार फागुन १२ गते राति बिनोद गिरीको गाडीलाई मोटरसाइकलले पिछा गरि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ स्थित गैरीचोकमा गिरीमाथि १ राउण्ड गोली प्रहार गरेका थिए।

गोली प्रहार गर्ने भारतीय नागरिक रोहित राजपुत थिए। गोली प्रहार भएपछि गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना समेत भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीन जना भारतीय नागरिक रोहित राजपुत, मोटरसाइकल चालक ईन्द्र विक र भरत भुलसँगै सुर्खेतमा होटलमा बस्ने वातावरण मिलाउने भनिएका राजन गिरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

हत्या योजना बनाउने मार्नका लागि साढे तीन लाख रकम दिने सशंकित व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .