कर्णाली


कर्णाली अस्पतालमा अपरेसनपछि नेपालगन्ज लाँदा आन्द्रा देखिएन, फर्काएर उपचार गराउँदा मृत्यु

कर्णाली अस्पतालमा अपरेसनपछि नेपालगन्ज लाँदा आन्द्रा देखिएन, फर्काएर उपचार गराउँदा मृत्यु

किशोरको मृत्युपछि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा विरोध प्रदर्शन गर्दै आफन्त।


दिनेश बुढा
साउन ३१, २०८२ शनिबार १४:४, सुर्खेत

जुम्लाको हिमा गाउँपालिका-३ का १७ वर्षीय डिकेसनाथ योगी पेट दुखेपछि गत जेठ २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गए।

जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको कर्णाली अस्पतालले इमर्जेन्सीमा सामान्य उपचार गरेपछि उनलाई त्यही दिन राति डिस्चार्ज गर्‍यो। 

तर, उनका बुबा जगतनाथ योगीले छोराको पेट दुख्ने कारण पत्ता लगाउन भनी भोलिपल्ट जेठ २६ गते फेरि त्यही अस्पतालमा भर्ना गराए। पेटको भिडिओ एक्सरे गरेपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए।

जगतनाथ भन्छन्, ‘जेठ २६ गते अस्पतालले एपेन्डिसाइटिसको अपरेसन गर्‍यो। फेरि २७ गते पेटमा आन्द्रा बटारिएको छ, त्यसलाई सुधार गर्नुपर्छ भन्दै अर्को अपरेसन गर्‍यो।’ 

त्यसपछि थप उपचारका लागि भन्दै कर्णाली अस्पतालले जेठ २८ गते नेपालगन्ज मेडिकल कलेज रेफर गरिदिएको उनले सुनाए। 

‘नेपालगन्ज चेक गर्दा आन्द्रा नै नभएको रिपोर्ट आयो, त्यतिबेला नै आन्द्रा काटेर फालिएको रहेछ। हामीलाई जानकारी भएन’, जगतनाथले भने। 

नेपालगन्ज मेडिकल कलेजले १८ दिन राखेपछि छोरोलाई फेरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै पठाइदिएको बुवा जगतनाथले नेपालखबरसँग बताए।

तर प्रतिष्ठानमा उपचारका क्रममा आज (शनिबार) बिहान डिकेसनाथको मृत्यु भयो। 

जगतनाथले भने, ‘थप उपचारका लागि प्रतिष्ठानले काठमाडौँ लैजान सुझाव दिएको थियो। मैले लगिनँ। उपचारमै रहेका छोरा (डिकेसनाथ) को शनिबार बिहान ४ बजे मृत्यु भएको खबर अस्पतालले दियो।’

उनले थपे, ‘आन्द्रा काटेर फालिसकेपछि बिरामी मर्छ, हामी फस्न सक्छौँ भनेर अस्पतालले हतारहतार (नेपालगन्ज) रेफर गरेको रहेछ भन्ने कुरा अहिले बुझियो।’

बिरामीको मृत्यु भएपछि शनिबार बिहानैदेखि मृतकका आफन्तले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरोध प्रदर्शन गरिरहेका छन्।

उनीहरूले ‘हामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिँदैन, मान्छे मार्न पाइँदैन, पीडितलाई न्याय दे’ लगायतका नारा लगाइरहेका छन्। 

मृतकका बुवा जगतनाथले अस्पताल प्रशासनसँग छलफल र विरोध प्रदर्शन सँगसँगै अघि बढाइएको बताए। 

उनले भने, ‘शव हामी जिम्मा लिँदैनौँ।’ 

प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुवी बस्न्यातले यस विषयमा जिल्ला प्रशासन कार्यालयमा अस्पताल प्रशासन, मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad