शनिबार साँझ डोल्पामा स्थानीय र प्रहरीबीच विवाद हुँदा यातायात सञ्जालन ठप्प पारिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाय भेरी नदीमा बेपत्ता भएपछि स्थानीयले सवारी साधन आतवजावतमा रोक लगाएका हुन्।
शुक्रबार राति रोकायलाई त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने इलाका प्रहरी कार्यालय खदाङ्गले आफ्नो कार्यालय नजिकै लागुऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खोजेको थियो।
प्रहरीले चेकजाँच गर्न खोजेको चाल पाएका रोकायले प्रहरी नआउँदै आत्तिएर त्रिपुरासुन्दरी नगरपालिका–५ मा रहेको छेप्के पुलबाट ठूली भेरी नदीमा हाम फालेर बेपत्ता छन्।
रोकाया बेपत्ता भएपछि स्थानीयले प्रहरीसँग विवाद थालेका थिए। उनीहरूले प्रहरीका कारण रोकायाले भेरी नदीमा हाम फालेर बेपत्ता भएको अरोप लगाएका छन्।
साथै स्थानीयले बेपत्ता रोकायालाई सकुशल ल्याउन माग गर्दै शनिबार बेलुका प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै यातायातका सबै सवारी साधन अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेका थिए।
त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ६ का सयौंको संख्यामा स्थानीयहरू खदाङ क्षेत्रमा भेला भएर अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका थिए।
यस्तै, स्थानीय र प्रहरीबीच झडप हुँदा केही स्थानीय र ३ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
उनले भने, ‘गोप्य सूचनाका आधारमा प्रहरीले चौकी भन्दा टाढा नै चेकजाँच सुरु गरेको थियो। तर, प्रहरीले उनलाई चेकजाँच गर्न नपाउँदै आत्तिएर भेरीमा हाम फालेका थिए। युवा बेपत्ता भएपछि शनिबार दिनभरदेखि प्रहरी र स्थानीयबीच ठूलो विवाद भयो। विवादले उग्ररूप लिएपछि ल्हाका स्थानीयले चौकी तोडफोड गरेर प्रहरीलाई लखेट्दा केही घाइते हुनुभएको छ।’
यस्तै, प्रहरी र स्थानीयबीचको विवादका कारण बेपत्ता युवाको खोजीकार्यमा ढिलो भइरहेको छ।
डोल्पा प्रहरीका अनुसार स्थानीय सरकारको समन्वयमा बेपत्ता रोकायाको खोजीकार्याका लागि आइतबार बिहानै प्रहरीले सशस्त्रको गोताखोरसहितको टिम घटनास्थलतर्फ परिचलान गरिएको छ।
साथै घटनास्थलमा शनिबार साँझदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ।
Shares

प्रतिक्रिया