ad ad

कोशी


‘देश विखण्डन हुने’ मुख्यमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

‘देश विखण्डन हुने’ मुख्यमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

सुमन पुरी
साउन ९, २०७९ सोमबार १७:१५, विराटनगर

प्रदेश १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले केही दिनअघि दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसदहरूले प्रदेश सभामा विरोध गरेका छन्। 

मुख्यमन्त्री राईले केही दिनअघि ‘प्रदेश १ को नाम किरात नराखिए देश विखण्डनमा जाने, ठूलो लडाइ हुने’ बताएका थिए।

राईले आन्दोलनलाई उचालेको र हिंसा भड्काउन खोजेको भन्दै प्रदेश सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले आपत्ति जनाएका हुन्। 

उनीहरूले मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको भएको भन्दै विरोध जनाएका हुन्।

प्रदेश सभाको शून्य समयमा एमाले सांसद बिनादेवी राईले मुख्यमन्त्रीले जनतालाई उचाल्ने काम गरेको र हिंसा भड्काउन खोजेको आरोप उनले लगाइन्। 

उनले भनिन्, ‘मुख्यमन्त्री जनता समक्ष गएर जनतालाई उचाल्ने काम गरिरहनु भएको छ। म जसरी पनि किरात बनाउँछु, छिट्टै म नामाकरण गर्छु भनिराख्नु भएको छ।’ 

उनले प्रश्न गरिन्, ‘आज जनता सडकमा आन्दोलित छन् तर सरकारको मुख्यमन्त्रीले नामकरणको विषय किन टेबुल नगरेको? सरकार आफैँ हिंसा भड्काउन उद्वेलित छ सभामुखज्यू’ उनले विपक्षमा रहँदा नामकरण छिटो गर्नु पर्यो भन्ने दलहरू नै अहिले नामकरणका विषयमा मौन रहेको बताइन्।  

उनले जनताहरूको भावना अनुसार तत्काल प्रदेश १ को नामकरण गर्न समेत माग गरिन्।

पूर्वराज्यमन्त्री तथा एमालेका सांसद लीलाबल्लभ अधिकारीले मुख्यमन्त्रीको केही समयदेखि यता आएको अभिव्यक्तिले मुलुककै ध्यान खिचेको बताए। 

उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुक उथलपुथल हुन्छ भन्न नमिल्ने जिकिर गरे ।

‘मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुकको उथलपुथल हुन्छ भन्न मिल्छ कि मिल्दैन? विद्रोह हुन्छ भन्न मिल्छ कि मिल्दैन? सामाजिक जातीय सद्भाव भड्किने गरी अरु पहिचानवालालाई असर पर्ने गरी जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिन हुन्छ कि हुँदैन?’ उनले भने, ‘म मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, यसको जवाफ दिनुपर्छ, मान्छेको आफ्नो पोजिसनको हैसियत हुन्छ, त्यसको मर्यादाको कामय गर्नुपर्छ कि पर्दैन?’

प्रदेश १ का मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालयमै ज्ञापनपत्र बुझाउन गएका किरात राई यायोख्खाको नेतृत्व समक्ष साउन २ गते भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए।

उनले यायोख्खाका प्रतिनिधिहरूलाई सडकमा उत्रिन जरूरी रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .