कोशी


‘तीन तहबीच समन्वय नहुँदा मुलुकको पर्यटन क्षेत्र अलमलियो’

‘तीन तहबीच समन्वय नहुँदा मुलुकको पर्यटन क्षेत्र अलमलियो’

नेपालखबर
असार १२, २०८३ शुक्रबार १७:४४, विराटनगर

तीन तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा मुलुकको पर्यटन क्षेत्र अलमलिएको सरोकारवालाहरूले औँल्याएका छन्।

विराटनगरमा आयोजित कोसी टुरिजम कन्क्लेभका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाले स्पष्ट कानुनी र नीतिगत व्यवस्थाको अभावमा पर्यटन क्षेत्रले गति लिन नसकेको धारणा राखेका हुन्।

तीनवटै सरकारको भूमिका स्पष्ट पारेर जानुपर्नेमा जोड दिँदै उनले बजेट निर्माणमा अझै पनि ‘चिर्कटो सिस्टम’ हाबी हुनु दुःखद रहेको बताए। जसको पहुँच छ उसैले बजेट लैजाने प्रवृत्तिले गर्दा स्रोतको समानुपातिक वितरण हुन नसकेको र यसले थिति बसाल्न चुनौती थपेको सचिव निरौलाको भनाइ थियो।

​मुख्यमन्त्री भन्छन्- पर्यटन गुरूयोजना बन्दैछ
कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा पर्यटन गुरुयोजना निर्माणको काम सुरु भइसकेको जानकारी दिए।

कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष तारा निरौलाको नेतृत्वमा उक्त योजनाको काम भइरहेको स्पष्ट पार्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत साधनका कारण सरकारका लागि बजेट निर्माण कार्य चुनौतीपूर्ण बन्दै गएको स्वीकार गरे।

कोसी प्रदेशले आगामी आर्थिक वर्ष २०८३ देखि २०८५ सम्मको अवधिलाई भ्रमण वर्षका रूपमा मनाउने घोषणाअनुरूप यसका लागि आवश्यक नीति, कानुन, कार्यविधि र कार्यक्रम बनाएरै अघि बढ्ने प्रतिबद्धता जनाए।

यसअघि विनियोजन भएका केही बजेटहरूमा त्रुटि देखिएकाले त्यसलाई सुधार्न सरकार तयार रहेको भन्दै उनले असारभित्रै आवश्यक नीतिगत व्यवस्था गरिसक्न मातहतका निकायलाई निर्देशनसमेत दिए।

​प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा विराटनगरबाट माउन्टेन फ्लाइटका साथै पोखरा र भैरहवाका लागि आन्तरिक उडान सञ्चालन गर्ने विषय समावेश गरेको र यसलाई प्रभावकारीरूपमा कार्यान्वयनमा लैजाने मुख्यमन्त्री कार्कीको दाबी छ।

यसअघि पर्यटन वर्ष मनाइए पनि कानुनी जटिलताका कारण अपेक्षित सफलता नमिलेकाले अबका दिनमा ती गल्तीहरूलाई सुधार गर्दै लैजाने उनले बताए।

पर्वतीय पर्यटनका माध्यमबाट ४५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि संघीय सरकार र सम्बद्ध मन्त्रालयको सहयोगबिना अन्तर्राष्ट्रिय गतिविधिहरू सञ्चालन गर्न असम्भव रहेको कार्कीले स्पष्ट पारे।

संघीय सरकारको असहयोगका कारण प्रदेशले सोचेजस्तो काम गर्न नसकेको गुनासो गर्दै मुख्यमन्त्री कार्कीले यस विषयमा अहिले संघीय मन्त्रालयहरूसँग गहन छलफल भइरहेको जानकारी दिए।

​कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रदेशको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन आगामी दिनमा यस क्षेत्रको बजेटको दायरालाई बढाउनुपर्नेमा विशेष जोड दिए।

कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कन्क्लेभको उद्देश्यबारे प्रस्ट् पार्दै मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले कार्यक्रममा विभिन्न तीनवटा सत्रमा केन्द्रित रहेर पर्यटन विकासका सम्भावना र चुनौतीबारे बृहत् छलफल आवश्यक रहेकाले कार्यक्रम गर्नु परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad