ad ad

कोशी


कोशी प्रदेशमा बढ्दो बलात्कारको ग्राफ, आफन्तबाटै पीडित हुन्छन् धेरैजसो बालिका

कोशी प्रदेशमा बढ्दो बलात्कारको ग्राफ, आफन्तबाटै पीडित हुन्छन् धेरैजसो बालिका

ध्रुव भट्टराई
फागुन २७, २०७९ शनिबार २०:२१, विराटनगर

आज भन्दा ठीक एक वर्षअघि २५ फागुनमा मोरङको लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव नग्न अवस्थामा लाल हिरा सामुदायिक वनभित्र ढुङ्गाले थिचेको अवस्थामा फेला पर्यो।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले लेटाङ नगरपालिका–८ का ६४ वर्षे दीपक गिरीलाई पक्राउ गर्यो। अन्ततः घटनामा उनी संलग्न भएको खुलासा भयो। 

प्रहरीका अनुसार विद्यालयबाट घर फर्कँदै गरेकी एक्ली बालिकालाई पछ्याएका उनले फकाइ फुल्याई बिच जङ्गलमा पुर्याएर शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे। बालिकाले गिरीको प्रस्ताव अस्वीकार गरिन्। तर, गिरीले बालिकामाथि जबरजस्ती करणी गरे।

त्यसपछि बुबालाई भनिदिन्छु भन्दै बालिका त्यहाँबाट भागिन्। अपराध लुकाउन गिरीले बालिकाको घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष दिएको बयानमा स्वीकार गरेका छन्। त्यसपछि गिरीले नजिकैको खोल्सीमा शवलाई घोप्टो पारी ढुङ्गाले छोपेर भागेको प्रहरीले जनाएको छ। 

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत उनी विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता थिइन्। घटनामा संलग्न भएका गिरी राई परिवारको चिनजानकै व्यक्ति हुन्।

पछिल्लो समय कोशी प्रदेशमा चिनजान र परिवारकै सदस्यबाट बलात्कारको घटनाको ग्राफ प्रत्येक वर्ष बढ्दै गएको छ।

प्रहरीका अनुसार गएको आर्थिक वर्षमा नाता भित्रकै र चिनजानबाट बालिका बलात्कृत हुने र घटना सार्वजनिक हुने डरले अपराध लुकाउने उद्देश्य पीडित तीन जना बालिकाको हत्या भएको तथ्यांक छ। यसरी बलात्कारपछि हत्या गरिएका दुई घटना मोरङ र अर्को एक घटना इलामको रहेका छन्।

कोशी प्रदेशमा एक वर्षदेखि हजुरआमाको उमेरका महिलाहरूसम्म बलात्कारको शिकार भएका छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र विपन्न बढी छन्। प्रहरी तथ्यांक अनुसार आफन्त, बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन्।

सहरी क्षेत्रमा बलात्कारका घटना उच्च
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षको अवधिमा प्रदेशका १४ जिल्लामा कुल १ हजार ५९४ बलात्कारका घटना भएका छन्। जसमा कुल घटनाको ७२ प्रतिशत झापा, मोरङ र सुनसरीका सहरी क्षेत्रमा घटेका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा ४७६ बलात्कारका घटना भएका छन्।आर्थिक वर्ष ०७७/७८ मा ५ सय १६ र आर्थिक वर्ष ०७८/०८९ मा ६ सय २  बलात्कारका घटना भएका छन्। चालु आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् श्रावणदेखि माघ महिनासम्म कोशी प्रदेशमा ३ सय ७ वटा जबरजस्ती करणीका घटना भएका छन्।

जबरजस्ती करणीका घटनामा १ सय ६५ बालिका पीडित भएका छन्। ५ जना जेष्ठ नागरिक महिला र १३७ जना १८ देखि ५० वर्ष उमेर समूहका महिला रहेका छन्।

नाता सम्बन्धकै सदस्य पिडक
प्रहरीका अनुसार गएको आर्थिक वर्षमा मात्र हेर्ने हो भने कोशी प्रदेशमा जम्मा ६ सय २ बलात्कारका घटना मध्ये नाता भित्रकै सदस्यबाट ९६ छिमेकीबाट १७०, चिनेका व्यक्तिबाट १२१ र अपरिचित व्यक्तिबाट २१५ जना बालिका तथा महिला बलात्कारका शिकार भएका छन्।

यी घटनामा पीडित हुनेमा दुधे बालिकादेखि १५ वर्ष उमेर समूहका सबै भन्दा बढी २५३ जना रहेका छन्। ६० वर्ष उमेर समूह भन्दा माथि अर्थात् हजुरआमा उमेरका १२ जना बलात्कारको शिकार भएको प्रहरीको तथ्यांक छ।

चालु आवको सात महिनामा पनि कुल ३ सय ७ वटा जबरजस्ती करणीका घटनामा नाता सम्बन्ध भित्रकै सदस्य बढी पिडक रहेको प्रहरीको तथ्यांक छ। कुल करणीका घटनामध्ये ८२ जना नाता भित्रैका सदस्य संलग्न रहेका छन्।

प्रहरीकै तथ्यांकलाई आधार मान्ने हो भने प्रदेश १ मा दैनिक दुई जना बालिका तथा महिला बलात्कारको शिकार हुने गरेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले सहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको बताए। एसपी कँडेल भन्छन, ‘हामीले त्यस्ता घटना बढी हुने सहरी क्षेत्रमा निगरानी बढाएका छौँ।’

प्रहरी उपरीक्षक कँडेलले ललाई फकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको बताए। त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह १६ देखि २५ वर्षका मानिसहरूको सङ्ख्या बढी छ भने पीडितको उमेर समूहमा १६ वर्षदेखि मुनिका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेको कँडेलका अनुसार जबरजस्ती करणीका अन्य कारणहरूमा डर त्रास, धाक धम्की तथा आर्थिक प्रलोभन हुने गरेको पाइएको छ। यसरी पीडित हुनेमा १८ देखि ३५ वर्ष उमेर समूहका महिला बढी छन्।

नाबालिका तथा वृद्धा भने प्रतिकार गर्न नसक्दा बलात्कारमा पर्ने गरेका छन्। धेरैजसो बलात्कारको घटनामा परिवारभित्रका सदस्य र आफन्तबाट हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

समाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईँले बलात्कार गर्नुजस्तो जघन्य अपराधमा फस्नुको पछाडि सहानुभूतिको कमी, महिलाप्रति शत्रुताको भावना र विषाक्त पुरुषत्वको मानसिकताको उपज रहेको बताउँछन्।

प्रसाईँका अनुसार बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै संयुक्त परिवारबाट एकल परिवारमा हुने विभाजन लगायतका कारण पनि बालिका तथा महिलाहरू असुरक्षित हुने गरेका छन्।

के छ, कानुन व्यवस्था?
नेपालको मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले जबरजस्ती करणी मुद्दामा सजायको व्यवस्था गरेको छ। 

दफा १९ को ३ मा १० वर्ष भन्दा कम उमेरकी बालिका, अशक्त, अपाङ्ग तथा ७० वर्षभन्दा माथिकालाई जबरजस्ती करणी गर्दा जन्मकैदको व्यवस्था गरेको छ। १० वर्ष वा १० वर्ष भन्दा माथि र १४ वर्ष भन्दा कम उमेरका बालिकालाई जबरजस्ती करणी गर्नेलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरेको छ।

त्यसै गरी १४ वर्ष भन्दा बढी र १६ वर्षसम्मका उमेर समूहका बालिकालाई जबरजस्ती करणी गरेमा १२ वर्षदेखि १४ वर्षसम्म कैदको व्यवस्था गरिएको छ भने १८ सम्म र त्यो भन्दा माथिका भएमा ७ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .