कोशी


फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’

धरानमा तिहारको रमझम


रासस
कात्तिक १६, २०८१ शुक्रबार ७:३९, धरान (सुनसरी)

फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ। तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ। किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ। झिलीमिली बत्ती, मीठाई मसला र फूलहरूले पूरै बजार ढाकेको छ।

दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई सांगीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ। तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ। फूलको मालाले घर सिँगार्ने चलन पनि उत्तिकै बढ्दो छ। पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताए। 

तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवले बताए। उनले भने, ‘अहिले यस्ता बत्तीको मागसँगै बिक्री बढेको छ। बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले बेचिरहेका छन्। व्यापार राम्रो भएको छ।’

झिलीमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले बताए।

धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको भ्याईनभ्याई छ। तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ।

भानुचोकमा झिलीमिली बत्ती बेच्दै गर्दा भेटिएका प्रवीण श्रेष्ठ तिहारमा छुट्टै खाल्को रौनक छाएको बताउँछन्। उनले भने, यतिबेला बजारमा विद्युतीय सामानको खरिद बिक्री निकै बढेको छ।’

श्रेष्ठका अनुसार तिहारको समयमा झिलीमिली बत्तीको बिक्री राम्रो भएकाले व्यापार राम्रो हुने गरेको छ। दिनमा रु ४० देखि रु ५० हजारसम्मको विद्युतीय बत्तीलगायत सामान बिक्री हुने गरेको उनले बताए। 

व्यापारी श्रेष्ठले भने, ‘तिहारलाई लक्षित गरी व्यापारीले दसैँ आउन १/२ महिना बाँकी हुँदादेखि नै झिलीमिली बत्ती बिक्री गर्न सामान ल्याइसकेका हुन्छन्।’ केही दिनयता भने दैनिक रूपमा ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री भइरहेको उनले बताए।

झिलीमिली बत्तीसँगै यो समयमा साधारण खालका बल्बको पनि बिक्री तीन गुणा बढीले हुने गरेको श्रेष्ठको भनाइ छ। अहिले घरका सबै ठाउँ उज्यालो राख्नुपर्ने र घरै पूरै झिलीमिली बनाउने मान्यताका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएकाले त्यस्ता बल्बको पनि बिक्री बढेको उनले बताए। 

अहिले बजारमा फरक-फरक खालका झिलिमिली बत्ती फरक-फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन्। न्यूनतम प्रतिगोटा रु २० देखि रु १० हजारदेखि रु २० हजारसम्म पर्ने बत्ती बजारमा बिक्रीका लागि राखिएका छन्। पछिल्लो समय लोडसेडिङको समस्या कम भएकाले पनि प्रत्येक वर्ष तिहारमा यस्ता बत्तीको माग दोब्बर नै बढ्ने गरेको व्यवसायीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad