कोशी


लगानी सम्मेलनका लागि कोसी सरकारले छुट्यायो ३ करोड ३० लाख

लगानी सम्मेलनका लागि कोसी सरकारले छुट्यायो ३ करोड ३० लाख

नेपालखबर
पुस ४, २०८१ बिहिबार २१:१७, विराटनगर

कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन  कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरे।

यसअघि विभिन्न संस्थाले लगानी सम्मेलन गर्ने प्रचार गरिएपछि मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन्।निजी क्षेत्रको सहकार्यमा यो सम्मेलन गर्ने उनले बताए।

‘कुनै एउटा संगठनको ब्यानरमा नभएर सम्मेलन सरकारले गर्ने हो। तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन्।

पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनु भएको छ। विश्व बैंकका पूर्वसईओ पनि आउने सम्भावना छ। प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुनु हुनेछ। यो, साझा लगानी सम्मेलन हो।’

यसका लागि तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएकोसमेत मुख्यमन्त्री कार्कीले जनाकारी दिए। बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताए।

लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइरालासँग छलफल गरेको थियो।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।

लगानी बोर्डका सीईओ सरोज कोइरालाले लगानी बोर्डको खातामा पठाइएको र अब बजेट लगायत प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad