कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सचिव र मन्त्रीलाई जागिर खान र झण्डा हल्लाउने मात्रै नभई प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनुभूति गर्ने गरी काम गर्न आग्रह गरेका हुन्।
'तपाईंहरू अधिकांश मन्त्रालयका सचिव कोसी प्रदेश कै हुनुहुन्छ, प्रदेशको विकास गर्न लाग्नु भयो भने तपाईंहरूकै इज्जत हुन्छ,' उनले भने, 'त्यसलै जागिर खानमात्रै नलाग्नुहोस् काम गर्नुहोस।'
सचिवहरूलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई भने,'झण्डा हल्लाएर मन्त्री हुनका लागि मात्रै नभई हामीले काम गरेर देखाउनुपर्छ। मन्त्री र सचिवहरुले प्रभावकारी काम गर्नुहोस।'
प्रदेश संरचना प्रति प्रश्न उठिरहेको बेला राम्ररी काम गर्नुपर्ने दायित्व मन्त्री र सचिवहरुमा रहेकोमा उनले जोड दिए।
अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गर्ने भएकाले दायाँबायाँ नगरिकन काम गर्नुपर्ने बताए। उनले भने,'अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गरेको छ तपाईँहरू दुविधा नभइकन काम गर्नुस्।'
उनले सबै मन्त्रालयहरूले कार्यक्षमता बढाएर बजेट कार्यान्वयन गर्नुपर्ने र राजस्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताए। मुख्यमन्त्री कार्कीले चाँडै नै राजस्व कार्यालय स्थापना हुने र यसमार्फत प्रदेशको राजस्व बढाउनका लागि पहल गरिने जानकारी दिए।
आन्तरिक राजस्व बढाएर काम गर्न सके प्रदेश सरकार बलियो हुने उनको भनाइ छ। पुल, बाटो, सडकलाई मात्रै विकासको रुपमा हेरिरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले मानवीय विकासका सुचाकांकमा पनि ध्यान दिनुपर्ने बताए।
प्रदेश सरकारले विस्तारै योजना छनोटमा आयोजना बैंकलाई कार्यान्वयनमा ल्याउने गरी काम गरेको उल्लेख गर्दै उनले बजेटलाई व्यवस्थित गर्नका लागि आगामी दिनमा प्रदेशको योजना आयोगमार्फत सिलिङ तोक्ने तयारीमा लाग्नका लागि निर्देशन दिए।
Shares

प्रतिक्रिया