कोशी


‘अबको युद्ध, दुर्व्यसन विरुद्ध’

‘अबको युद्ध, दुर्व्यसन विरुद्ध’

नेपालखबर
फागुन २८, २०८१ बुधबार १५:१७, विराटनगर

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोसी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सुरु गरेको छ। 

‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित कोसी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधवार बिहान इटहरीमा शुभारम्भ गरे। 

विद्यालय स्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्य सहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी राजन अधिकारीले जानकारी दिए। ६ वर्षअघि सुनसरीबाट सुरु भएको दुर्व्यसन विरुद्धको अभियान बुधबारदेखि कोसी प्रदेशमा विस्तार गरिएको हो।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश र स्थानीय तहहरूले वार्षिक कार्य योजनामै समेटेर साथ दिएको डीआइजी अधिकारीले बताए। 

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेल्ने बताए। यसको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा ठूलो जागरूकता र परिवर्तन ल्याएको उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा भएको कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रीहरू, स्थानीय तहका प्रमुख तथा विभिन्न जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो। उनीहरूले यो अभियानले दुर्व्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने भन्दै सबैको सहयोग अपरिहार्य रहेको बताए।

२०७५ साल माघ १४ गते सुनसरीमा जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘दुर्व्यसन विरुद्ध ‘फ्यान’ अभियानको अवधारणा लागू गरेको थियो। 

अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १८ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७० वटा भन्दा बढी विद्यालयमा विस्तार भएको छ। अभियानबाट हालसम्म ७५ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएको सुनसरी प्रहरी प्रमुख सुमन  तिमल्सिनाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad