नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेशको अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत निर्वाचित भएकी छिन्।
दुई दिनअघि इटहरीमा सुरु भएको प्रथम अधिवेशनबाट खड्कालाई अध्यक्ष घोषणा गरिएको हो। निर्वाचन प्रक्रिया रोकेर केन्द्रीय नेतृत्वले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको थियो। अध्यक्ष बन्न ५ जनाले मनोनयन दर्ता गराएका थिए।
प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टले दाबी प्रस्तुत गर्दै आएका थिए। बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन्।
सरिता यसअघि उपसचिव थिइन्। २०७४ मा समानुपातिक प्रदेशसभा सांसद भएकी उनी ७९ को चुनावमा सङ्खुवासभा १ (१) मा पराजित भइन्। तर, सर्वसम्मतका नाममा खड्कालाई टीका लगाइएको भन्दै अन्य आकाङ्क्षी र प्रतिनिधिले असन्तुष्टि जनाएका छन्।
प्रदेश कमिटीको सचिव खोटाङका जलेश्वर राई चयन भएका छन्। उपसचिवमा भवानी शङ्कर चयन भए। प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ। प्रदेश कमिटीको पहिलो बैठकले रिक्त रहेको पदमा मनोनीत गर्ने समेत जनाइएको छ। एकीकृत प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ।
बुधवार नै गर्ने भनिएको निर्वाचन प्रक्रिया लम्याएर आज नाम टाँसिएको भन्दै अध्यक्ष मण्डलको आलोचना भएको छ। अध्यक्षका दाबेदार धर्म निरौलाले सर्वसम्मतका नाममा सबै प्रतिनिधिलाई घर पठाएर अध्यक्षको नाम सुनाएको बताए।
हिजै निर्वाचन गर्न अध्यक्षका आकाङ्क्षीहरूले माग राख्दै आएका थिए तर अध्यक्ष मण्डलले सर्वसम्मतको प्रयास गरौँ भन्दै आजसम्म अड्काएर प्रतिस्पर्धालाई रोकेर टीका लगाएको निरौलाको भनाई छ।
नेकपा एस कोसीको अधिवेशनको नयाँ नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डलको अध्यक्ष राजेन्द्र राई थिए। पूर्वमुख्यमन्त्रीसमेत रहेका राई पार्टीका उपमहासचिव हुन्। अध्यक्ष मण्डलमा राजन राई, जीवन राई, खिनु लंगवा, अशेष घिमिरे र विद्या चाम्लिङ थिए।
Shares

प्रतिक्रिया