कोशी


कोसीका चार नाकामा भारतीय गाडीलाई सीमामै स्टिकर

कोसीका चार नाकामा भारतीय गाडीलाई सीमामै स्टिकर

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १९:२१, विराटनगर

कोसी प्रदेश सरकारले विराटनगरको रानीबाट सुरक्षा जाँच स्टिकर शुभारम्भ गरेको छ। कोसी पर्यटन वर्ष २०८२ लाई लक्षित गरी स्टिकर टाँस अभियान सुरु गरेको हो।  

चारवटा नाकाहरू मध्ये रानी नाकामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी सुरक्षा जाँच स्टिकर टाँस अभियान सुरु गरिएको हो। कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्टिकर टाँस्ने अभियानको शुभारम्भ गरे।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोसी प्रदेश प्रहरी कार्यालयको आयोजनमा कोसी प्रदेशमा भित्रने पर्यटक गाडीलाई लक्षित गरी स्टिकर अभियान सञ्चालन गरिएको हो। कोसी सरकारका मुख्यमन्त्री कार्कीले  भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी यो सानो अभ्यास गरिएको बताए। 

प्रहरीले तथा ट्राफिकले दुख दिन्छन् भन्ने सन्देश भारतीय पर्यटकमा परेको विषयमा थोरै भए पनि नेपालमा आउने पर्यटकले दुख नपाउन् भन्नको लागि पनि यो एउटा महत्त्वपूर्ण काम भएको मुख्यमन्त्री कार्कीको भनाइ छ। 

‘हामीले केही राम्रो कामको सुरुवात मध्ये प्रारम्भिक कामको थालनी  भारतीय पर्यटकको गाडीमा स्टिकर टाँस गर्ने कामको सुरुवात भएको हो’, उनले भने, ‘आज शुभारम्भ भएको छ, वैशाख १ गतेदेखि यसले निरन्तरता पाउने छ।’ 

पर्यटक माथिको दोहोरो करको बारेमा पनि आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताए। भन्सार र आन्तरिक राजश्व विभागले स्टिकर अभियानलाई  असहयोग गरेपछि मुख्यमन्त्री कार्कीले आक्रोश व्यक्त गर्दै एउटा व्यक्तिले प्रदेशलाई अप्ठ्यारो अवस्था सिर्जना गराउने प्रयास भएको बताए। 

‘गैह्र कानुनी काम कसैले गर्नु हुँदैन,  राम्रो काममा सबैले सहयोग गर्नु पर्छ’, मुख्यमन्त्री कार्कीले भने,‘सबैको अधिकार छन्, अधिकार भित्र रहेर काम गर्न अनुरोध गर्दछु,राम्रो काममा कसैले अप्ठ्यारो बनाउँछ भने जनताले त्यस्ता प्रमुखलाई  हटाउन पनि सक्छन्।’

चार वटा नाकाबाट यो अभियानलाई निरन्तरता दिने कोसी प्रदेश सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आवश्यक सुरक्षा चेकजाँच गरी नेपाल प्रवेश गरेपछि अनावश्यक झन्झट नहुने बताए। 

भण्टाबारी, रानी, काँकडभिट्टा र पशुपति नगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक गाडीमा स्टिकर लगाएर नेपाल प्रवेश गर्न दिइने कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीले जानकारी दिए। 

उनका अनुसार, कोसी प्रदेशका यी चार नाकाबाट दैनिक करिब ५ सय भारती गाडी नेपाल भित्रने गरेको छ।

महानगरपालिकाको छाप्राबाट सरकारले यो काम सुरु गरेकोले अब १ महिना भित्र आफ्नै टहरो बनाएर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad